गुल्मीको वामीटक्सार बजारमा श्रृंखलाबद्ध चोरी, अनुसन्धान फितलो

२०७८, २१ फाल्गुन शनिबार ०८:१५

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-७, वामीटक्सार बजारमा केही समयदेखि श्रृंखलाबद्ध चोरीका घटना हुन थालेका छन्। नगरपालिकाको केन्द्र समेत रहेको वामीटक्सार बजारमा रातको समयमा पसल तोडफोड र चोरीका घटना बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

गत महिना मात्रै वामीटक्सार बजारस्थित एक घरमा मध्यरातमा ढोका तोडफोड गरी लुटेराले उक्त घरमा रहेका २ वटा कार्यालय र १ वटा पसलबाट झण्डै २५ हजार नगद चोरी गरेका थिए । पल्टारमा रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था र लेबल अप कन्ट्रक्सनको कार्यालय सँगै सोही घरमा रहेको एक पसलबाट उनीहरुले उक्त रकम लुटेका थिए।

लेबल अप कन्ट्रक्सनका व्यवस्थापक अर्जुन सापकोटाले सिसी क्यामेरा बन्द भएको मौका छोपेर चोरी भएको बताए । यो घटनाको दोषी पत्ता नलाग्दै पुनः बिहीबार राति लुटेराले बजारका आधा दर्जन पसल तथा धार्मिक स्थलहरु तोडफोड गरी नगद चोरी गरेका छन्। पल्टारमा रहेको श्रेष्ठ स्टेशनरीबाट उनीहरुले घरको ताला फोडेर झण्डै ३० हजार तथा अन्य विभिन्न स्थानबाट गरी झण्डै ४५ हजार चोरी गरेको प्रहरीले जनाएको छ।

मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्लले विगत केही समययता वामीमा चोरीका घटना बढेको र यसले सुरक्षामा चुनौती थपेको बताए । चोरी नियन्त्रणमा प्रहरी संवेदनशील नबनेको काफ्लको गुनासो छ।

‘घटनाका प्रकृति हेर्दा चोरीमा पशेवर गिरोह नै सक्रिय भएको देखिन्छ, प्रहरीले अनुसन्धान गरिरहेको भनिए पनि अहिलेसम्म खास उपलब्धि देखिएको छैन’, वडाध्यक्ष काफ्लेले भने। घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउनका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई गम्भीर भएर लाग्न नगरपालिकाको तर्फबाट आग्रह गरेका छौँ।

यी त चोरीका पछिल्ला प्रतिनिधि घटना मात्रै हुन् । विगत एक वर्षलाई हर्ने हो भने वामीमा चोरीका श्रृंखलाबद्ध घटना भएका छन् । नगद, गरगहना, महंगा वस्तुलगायत गरी लाखौँको लुटपाट भएको छ । अघिल्लोे वर्ष टारस्थित एक पसलबाट मोटरसाइकलनै चोरीको प्रयास भएको थियो।

व्यक्तिका घरदेखि पसल, मठमन्दिर र सहकारीसम्म गरी दर्जनौँ ठाउँमा चोरी भएको छ । लगातारजसो चोरीका घटना हुँदा पनि लुटेरा पक्राउ पर्न सकेका छैनन् । प्रहरी अनुसन्धान सोधपुछमै सीमित छ। कतिपय घटनामा त प्रहरी पुग्नै सकेको छैन । पीडित र स्थानीयवासीले भने प्रहरी अनुसन्धान फितलो भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्।

बिहीबार भएको घटनामा बजारस्थित सागर स्टोर्सको सिसी क्यामेरामा कैद भएका लुटेरा नकापधारी जस्तो देखिएको सञ्चालक कृष्ण सापकोटाले जानकारी दिए । उनले बारम्बार हुने यस्ता चोरीका घटनाले सुरक्षा संवेदनशीलतामा प्रश्न चिन्ह खडा गरेको बताए।

प्रहरीले अनुसन्धान गरिरहेको भनिए पनि अहिलेसम्म खास उपलब्धि देखिएको छैन् । श्रृंखलाबद्ध रुपमा चोरीका घटना हुँदा वामीटक्सार बजार क्षेत्रको सुरक्षा प्रबन्धमै गम्भीर प्रश्नहरु उब्जिएका छन् । मानिसहरुमा त्रास छ। असुरक्षा बढेको छ।

वामीटक्सार प्रहरी चौकीका सई हरि ओलीले चोरीको घटनामा स्थलगत अनुसन्धान गरिएको बताए । उनले मजुवामा पनि यस्तै किसिमको घटना भएको जानकारी आएकाले दुबै घटनामा एउटै व्यक्ति संलग्न भएको आशंका गरिएपनि जिल्लामा आफुले खबर गरेको र अनुसन्धान पछि अपराधी पत्ता लाग्ने विश्वास व्यक्त गरे। सिसी क्यामेरामा कैद दृश्य अस्पष्ट भएकाले पनि अनुसन्धान जटिल बनेको प्रहरीले जनाएको छ।

चोरीलगायत अपराध न्यूनीकरणमा समुदायको पनि सहयोग चाहिने उनले बताएका छन्। स्थानीयवासले भने प्रहरीले बजार क्षेत्रमा रात्रिकालीन गस्ती शुरु गर्नुपर्ने बताए। स्थानीय व्यवसायी रामु घिमिरेले केही समययता लगातार भइरहेका यस्ता घटनाले त्रास पैदा गरेको भन्दै प्रहरीले राति गस्ती गर्नुपर्ने बताउँछन्।

प्रहरीले चोरी हुन नदिन सुरक्षाका उपाय अपनाउन, धनमाल र गरगहना घरभित्रै छाडेर बाहिर नजान, शंकास्पद व्यक्ति देखिएमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Comments

ताजा खबर