सेतो कात्रोमा गोजी हुँदैन ! – कवि: सुरेन्द्र चौहान

२०७८, २२ माघ शनिबार १०:४१

सेतो कात्रोमा गोजी हुँदैन- कवि: सुरेन्द्र चौहान

(१)
लास ढाक्ने सेतो कात्रोमा गोजी हुँदैन ,
मरेपछि मशानघाटमा कुनै रोजी हुँदैन ।
कुबेर बन्ने धुनमा भ्रष्टाचार किन गर्छौ ?
मृत्युपछि त यहाँ कसैको खोजी हुँदैन ।।
(२)
मृत देहमा त अलिकति पनि माया हुँदैन ,
मशानघाटमा जलाएपछि झन छाया हुँदैन ।
समाजमा यति धेरै घमण्ड तिमी किन गर्छौ ?
मर्ने बेलामा कसैको दैव पनि दायाँ हुँदैन ।।
(३)
लोकमा कसैको पनि जीवन अजम्बरी हुँदैन ,
मानव जीवनको गति एकनास सधैभरि हुँदैन ।
यति बिघ्न ईष्र्या अरूको तिमी किन गर्छौ ?
हरे ! यो जगत त झुटो हो, जीवनभरि हुँदैन ।।
(४)
मान्छेलाई निल्ने कालको कुनै रूप हुँदैन ,
दिन आएपछि लगेरै छाड्छ तर चुप हुँदैन ।
यति धेरै अहंकार लोकमा तिमी किन गर्छौ ?
बुझ,आएपछि काल जादिन भन्ने छुट हुँदैन ।।
(५)
आगोमा जलाएपछि लासको कुनै आकार हुँदैन ,
मरेपछि मान्छेका कुनै पनि सपना साकार हुँदैन।
जीवन र जगत नबुझी यति धेरै लोभ किन गर्छौ ?
मृत्युपछि श्री कहाँ पुग्छ कसैलाई दरकार हुँदैन।।
(६)
मानव देह त खरानी बन्छ तर आत्मासङ हुँदैन।
मलामी सबै फर्किएर आउलान ऊ साथमा हुँदैन।
बिर्सिएर परब्रह्म चटक्कै अधर्मी किन बन्दछौ ?
मृत्युपछि तिम्रो साथमा त त्यहाँ परमात्मा हुँदैन ।।

Comments

ताजा खबर