चितवन: चितवन राष्ट्रिय निकुञ्ज आडको वनमा घाँस काट्न गएकी राप्ती नगरपालिका–१ की ५५ वर्षीया सोतीमाया तामाङलाई गत सोमबार बाघले आक्रमण गरेर ज्यान लियो । त्यसको साता दिनअघि जेठ ८ मा निकुञ्ज आडको बाटुली पोखरी वनमा घाँस काट्नै गएकी भरतपुर–१३ पटिहानीकी ५२ वर्षीया फूलकुमारी बोटेको पनि बाघको आक्रमणबाट मत्यु भएको थियो ।
गत वैशाख १८ गते पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गर्दा नारायण दाहालको ज्यान गुमाए । उनी पनि घाँस काट्नै गएका थिए ।
‘हाम्रो सामुदायिक वनभित्र मात्रै साउनयता बाघ आक्रमणका चार घटना भए, तीन जनाको त मृत्यु नै भयो,’ कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशबहादुर श्रेष्ठले भने । घाइते भएकाको उपचारका लागि ८ लाख ५४ हजार रुपैयाँ खर्च गर्नुपरेको उनले बताए ।
निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार ०७८ वैशाखयता विभिन्न जंगली जनावरले आक्रमण गर्दा २४ जनाको ज्यान गएको छ । तीमध्ये १४ जनाको बाघको आक्रमणबाट ज्यान गएको छ ।
यो तथ्यांक ०७८ असार ७ मा सौराहा जनकौली मध्यवर्ती वनमा घाँस काट्न गएकी महिलालाई बाघले आक्रमण गरेर ज्यान लिएपछिको हो । यो वर्ष बाघले आक्रमण गरेका घटना सबै जंगलमै भएका छन् । निकुञ्जका सूचना अधिकारी तिवारी बाघ गाउँमा आएर मानिसको ज्यान लिएको घटना एउटा पनि नभएको दाबी गर्छन् । घाँस काट्न जंगल गएका बेलामा बाघले आक्रमण गरेर आठ जनालाई मारेको निकुञ्जको तथ्यांकमा छ । अरू घटनामा पनि अन्य कामले जंगलमा गएका बेलामा नै आक्रमणमा परेको सूचना अधिकारी तिवारीले बताए ।
‘स्थानीयहरू घाँस–दाउरा गर्न जंगल जाने चलन छ । पहिला जहाँ–जहाँ पुग्थे, अहिले पनि त्यतै जान्छन् । तर बाघले त्यो ठाउँलाई बासस्थल बनाएको हेक्का नराख्दा यस्ता दुःखद घटना भएका हुन्,’ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका प्रमुख बाबुराम लामिछानेले भने । उनले बाघको विषयमा अध्ययन अनुसन्धान गर्दै आएका छन् ।
संख्या बढेका कारण बाघ पहिला नबसेको वन क्षेत्रमा आउन थालेको संरक्षणकर्मीहरूको आकलन छ । ‘हामीले घाँस–दाउरा गर्न निश्चित ठाउँ र समय तोकेका छौं । तर मान्छेहरूको बाध्यता छ । घाँस–दाउरा खोज्दै–खोज्दै अलि पर पनि जानुपरेको छ । तोकेको ठाउँभन्दा पर जाँदा घटना हुने गरेको देखेको छु,’ कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष श्रेष्ठले भने ।
कुमरोज वनमा पछिल्लो समय पर्यटकहरूको चहलपहल बढेको छ । वन जोगिएका कारण बाघका आहारा प्रजातिहरू चित्तल, बँदेल पनि बढेका छन् । आहारा बढेपछि चितवन निकुञ्जका बाघ मध्यवर्ती सामुदायिक वनतिर आउने गर्छन् । ‘बाघ आउनु पर्यटनका लागि राम्रो हो । तर स्थानीयलाई त अभिशाप जस्तै बन्यो । स्थानीयलाई के–कसरी जोगाउने हो ? हामीलाई समस्या परेको छ,’ अध्यक्ष श्रेष्ठले भने ।
०७६ मा बाघ आक्रमणमा परेर ज्यान गएको एउटा पनि घटना थिएन । ०७७ मा चार जनालाई बाघले आक्रमण गरेर ज्यान गएको तिवारीले बताए । पहिला विरलै जस्तो हुने बाघ आक्रमणका घटना एक्कासि बढ्न थालेको भन्दै संरक्षणकर्मीहरू चिन्तित देखिन्छन् । बाघको संख्या बढ्नु संरक्षणका दृष्टिले सुखद भए पनि स्थानीय जंगल जानुपर्ने बाध्यता नहट्दा आक्रमणका घटना बढेका छन् ।
‘ज्यानै जाने गरेर पहिला यस्तो आक्रमणका धेरै घटना हुँदैन थिए । कुनै वर्ष शून्य हुन्थ्यो । कुनै वर्ष चार–पाँच वटा पनि हुन्थे । औसतमा बाघका कारणले वर्षमा दुई–तीन जनाले ज्यान गुमाउने घटना हुन्थे । यो वर्ष अलि धेरै नै घटना भए,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालय प्रमुख लामिछानेले भने ।