गुमनाम बामदेवको बसिवियीलो

२०७९, २१ बैशाख बुधबार १०:३१

काठमाडौँ: नेकपा (एमाले) विभाजनपछि राजनीतिमा कतै नखुलेका वामदेव नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् । गौतमले एकीकृत समाजवादीका लागि निर्वाचन गीत लेखेर आफ्नो धार कतातिर छ भन्ने संकेत गरेका छन् । एमाले उपाध्यक्षबाट राजीनामा दिएपछि उनी राजनीतिक दलमा खुलेका थिएनन् ।

एकीकृत समाजवादीले गौतमको शब्द रहेको चुनावी गीत मंगलबार सार्वजनिक गरेको छ । गीतमा ‘कलम हो है चुनाव चिह्न छाप लगाउने, समाजवाद निर्माण गर्न जनता जगाउने’ लगायतका शब्द रहेका छन् । गीतको बोल ‘जनता जगाउने, कलममा छाप लगाउने’ रहेको छ । गौतमका शब्दमा कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको छ । संगीत केसीको रहेको छ ।
गीतमा एकीकृत समाजवादी व्यक्तिवादी नभई विचारवादी, नेताभन्दा नीति प्रधान रहेको उल्लेख छ । उद्योग, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा विकासका लागि कलममा मतदान गर्न आह्वान गरिएका शब्द गौतमले लेखेका छन् ।

‘हाम्रो पार्टी, समाजवादी देशैभरी छायो, चुनाव चिह्न कलम बोकी घरआँगनमा छायो’ शब्द रहेका गीतमा संविधानको उल्लंघनले राज्य नचल्ने र प्रतिगामी हर्कतले देश नबन्नेलगायतका कुरा गीतमा राखेर आफ्नो कित्ता गौतमले कतातिर भन्ने देखाएका छन् ।
एकीकृत समाजवादीले युट्युबमार्फत सार्वजनिक गरेको गीतको भिडियोमा पनि गौतम देखिएका छन् । गीत रेकर्डिङको क्रममा स्टुडियोमा गौतम रहेको भिडियोमा देख्न पाइन्छ ।

राष्ट्रिय सभा सदस्य गौतम पछिल्लो समय राजनीतिक गतिविधि बाहिर रहेका थिए । उनीकी श्रीमती तुल्सी थापा एमालेबाट प्रतिनिधिसभा सदस्य छन् । उनीसँगै रहेका केही नेता भने एमालेबाट विभाजित भएर गठन भएको एकीकृत समाजवादीतिर लागेका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उक्त गीत सामाजिक सञ्जाल फेसबुकमा राख्दै ‘कमरेड वामदेव गौतमले रचना गर्नुभएको ‘कलममा भोट हाल्न’ अपील गरिएको गीत’ भनेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु