खोप भित्रिने मिति अझै अनिश्चित, बालबालिकालाई खोपमा अझै अन्योल

२०७९, ३ बैशाख शनिबार ०६:३२

काठमाडौँ: ५–११ वर्ष उमेर समूहका बालबालिकाले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले मार्च महिनाभित्रै खोप लगाइसक्ने घोषणा गरे पनि अझैसम्म कहिलेबाट अभियान सुरु हुन्छ निश्चित भएको छैन ।

सरकारले बालबालिकाका लागि आउने भनिएको फाइजर कम्पनीको खोप ५–११ वर्ष उमेर समूहलाई लगाउने निर्णय गरेको थियो । स्थानीय निर्वाचनअघि नै खोप भित्र्याएर लगाइसक्ने सरकारको तयारी रहे पनि विश्वभर अत्यधिक माग रहेकाले फाइजर कम्पनीबाट खोप प्राप्त हुने समय अझै यकिन भइनसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । ‘स्वास्थ्य मन्त्रालयले खोप सल्लाहकार समितिको सिफारिसअनुसार ५–११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्घको खोप लगाउने निर्णय गरिसकेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘जसअनुसार मन्त्रालय फाइजर खोप ल्याउन सक्रिय भएर लागेको छ ।’

मुलुकभर ५–११ वर्ष उमेर समूहका करिब ३५ लाख बालबालिका छन् । उक्त जनसंख्यालाई खोपको प्राथमिक मात्रा (२ मात्रा) र खेर जान सक्नेसमेत आकलन गर्दा ८४ लाख मात्रा खोप आवश्यक रहेको स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । अभियानका लागि अन्य सबै तयारी भने भइसकेको शाखाले जनाएको छ । ‘बालबालिकालाई खोप लगाउन हामी तयार छौं,’ शाखा प्रमुख सागर दाहालले भने, ‘फाइजर खोप लगाउने प्रक्रियाबारे देशभर स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भने असारसम्म खोप लगाएर सक्ने योजनामा सरकार रहेको जनाएको छ । ‘उक्त परिमाणको खोप कम्तीमा साताको फरकमा ४ पटक गरी मुलुक भित्र्याउने प्रारम्भिक योजना छ,’ स्रोतले भन्यो ।
खोप भित्रिएको एकदेखि डेढ साताभित्रै लगाइसक्ने व्यवस्था गर्न सकिने प्रमुख दाहाल दाबी गर्छन् । तर, नेपालमा हाल अति न्यून तापक्रममा १५ लाख मात्रा खोप मात्रै भण्डारण गर्न सकिने क्षमता छ । खोप उत्पादन मितिदेखि ६ महिनासम्म माइनस ९०–६० डिग्री सेल्सियससम्म भण्डारण गर्नुपर्छ । २–८ डिग्री सेल्सियस तापक्रममा ‘अन–डाइल्युटेड’ अर्थात् उपयोग गर्न पातलो नबनाइएको अवस्थामा १० सातासम्म राख्न सकिन्छ । उपयोग गर्ने हकमा भने २५ डिग्री सेल्सियसमा करिब १२ घण्टासम्म राख्न सकिन्छ । क्लिनिकल ट्रायलअनुसार यो खोप ५–११ वर्षसम्मका बालबालिकामा दोस्रो मात्रा लिएको एक सातापछि ९०.७ प्रतिशत प्रभावकारी देखिएको कम्पनीको दाबी छ ।

हाल नेपालमा १२ वर्ष वा सोभन्दा माथिको जनसंख्याका लागि मात्र कोरोनाविरुद्धको खोप उपलब्ध छ । हालसम्म १२–१७ वर्षसम्मका बालबालिकाका हकमा ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार ४ सय ५१ जनालाई पहिलो मात्रा र ७५ प्रतिशत अर्थात् २५ लाख ८४ हजार ३ सय २६ जनालाई पूर्ण मात्रा खोप लगाइएको छ ।

शुक्रबारसम्म मुलुकभर खोप लगाउन योग्य संख्याको ६६.३ प्रतिशत अर्थात् १ करोड ९३ लाख ६२ हजार ३ सय ६१ जनाले पूर्ण खोप पाइसकेका छन् । २ करोड २१ लाख ४६ हजार ४ सय ८६ जनाले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् । यो संख्या कुल जनसंख्याको ७५.९ प्रतिशत हो । हालसम्म ४ करोड ५ लाख ८५ हजार ५ सय ५७ मात्रा खोप खपत भइसकेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु