वैशाख ८ गते विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस नेपाल भ्रमण गर्ने

२०७९, २ बैशाख शुक्रबार १५:५६

काठमाडौँ: विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस तीन दिने भ्रमणका लागि वैशाख ८ गते नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा संगठनका महानिर्देशक डा. ट्रेडोस नेपाल आउन लागेको सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

डा. पोखरेलका अनुसार तीन दिने भ्रमणका क्रममा महानिर्देशकले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार भेट गर्ने छन् । ‘उहाँले भ्रमणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग भेटवार्ता गर्नुहुने छ,’ उनले भने, ‘यस्तै कोभिड महामारीमा उल्लेखनीय काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गर्नुहुने छ ।’
उनका अनुसार योबाहेक नेपालले कोभिड नियन्त्रणका लागि गरेका अन्य कामका साथै खोप कार्यक्रमबारे पनि उनलाई जानकारी दिइने छ ।

महानिर्देशक डा. ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह पनि नेपाल भ्रमणामा आउने छिन् । उनीहरु भारतको भ्रमण गरेर नेपाल आउन लागेको पनि डा. पोखरेलले जानकारी दिए ।

Comments

ताजा खबर