एमालेले चुनावी घोषणापत्र, चुनावी एजेन्डा सार्वजनिक गर्ने

२०७८, २१ चैत्र सोमबार १६:२४

धादिङ: नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले स्थानीय तह निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय धादिङबेसीमा प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बादलले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासको एजेन्डा बोकेर निर्वाचनमा होमिएको बताए । सबै स्थानीय तहमा एक्लै उम्मेदवार उठाएर जाने तयारी रहे पनि स्थानीय स्थिति हेरेर तालमेलको निर्णय लिन सकिने बताए ।

सिंगो देश निर्वाचनमा होमिएको र राजनीतिक दल पनि निर्वाचनका लागि सक्रिय भएकाले यो परिस्थितिमा देश र जनताको रक्षाका लागि सबैले सोच्नुपर्ने बताए । उनले भने, ‘देशको राष्ट्रियता जोखिममा परेको छ; लोकतन्त्र धरापमा छ; देशको आर्थिक स्थिति डामाडोल छ; अर्थविद्को भनाइअनुसार देश असफल उन्मुख छ; यस प्रकारको परिस्थितिमा नेकपा एमालेले देशको नेतृत्व दिनुपर्छ, परिस्थितिलाई सामान्य बनाउन एमालेको नेतृत्व आवश्यक छ ।’

यो सरकारले देशलाई दुर्घटनातिर लगेको भन्दै उपाध्यक्ष बादलले सदन अस्तव्यस्त भएको र न्याय व्यवस्था भताभुङ्ग बनेको बताएका हुन् । यस्तो अवस्थामा देशले ठूलो चुनौतीको सामाना गरिरहेको बताउँदै नेकपा एमाले जनादेशको माध्यमबाट यो देशको बाटो आफ्नो हातमा लिन चाहेको उनले बताए ।

देशको राजनीति दुईवटा ध्रुवमा विभाजित भएको छ । ‘एकातिर नेपाली कांग्रेसको नेतृत्वमा अपवित्र गठबन्धन छ भने अर्कोतिर नेकपा एमालेको नेतृत्वमा सबै देशभक्तहरू, लोकतान्त्रिक शक्तिहरु उभिएका छन् । आगामी निर्वाचनमा हाम्रा मूल एजेन्डाहरूलाई लिएर चुनावमा होमिन तयार छौं‚’ नेता बादलले भने ।

एमालेको नेतृत्वमा मात्रै समृद्धि सम्भव रहेको भन्दै उनले मुलुकको भविष्यका निम्ति पनि यो निर्वाचन एमालेले जित्न जरुरी रहेको बताए । उनले भने, ‘एमाले अहिले पनि पहिलो पार्टी भएकाले आगामी निर्वाचनमा पहिलो हुने मात्रै होइन‚ दुईतिहाइ बहुमतका साथ पहिलो हुने लक्ष्य हो ।’ नेता बादलले स्थानीय तहको निर्वाचन भयरहित र निष्पक्ष हुनेमा आशंका रहेको बताए । वैशाख ९ गते पार्टी स्थापना दिवसको दिन एमालेले चुनावी घोषणापत्र, चुनावी एजेन्डा सार्वजनिक गर्नेसमेत उनले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु