काठमाडौं : काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य चन्द्रागिरि पहाडमा आज बिहानैदेखि हिमपात भएको छ । चन्द्रागिरि पहाडमा हिजो रातिदेखि नै हल्का वर्षासँगै हिमपात भएको छ । यो वर्ष हिउँदमा चन्द्रागिरि पहाडमा दोस्रो पटक हिमपात भएको हो ।
आज बिहानैदेखि हिमपातको रमाइलो लिन पहाडमा पर्यटकको आगमन बढेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए । देशका उच्च पहाडी तथा हिमाली भेगमा मौसम बदलीसँगै हिमपात भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । गएरातिदेखि परेको वर्षासँगै काठमाडौं उपत्यकाको तापक्रम घटेको छ ।