उपराष्ट्रपतिको हत्या प्रयास असफल

२०७९, १८ भाद्र शनिबार ०६:११

काठमाडौँ: अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिष्टिना फर्नान्डेज डे किर्च्नरलाई ताकिएको बन्दुक नपड्किँदा उनी हत्या प्रयासबाट जोगिन सफल भएकी छिन् । उप राष्ट्रपति क्रिष्टिनाका आफ्नो निवास बाहिर समर्थकहरुलाई अभिवादन गर्दै गर्दा भीडमा रहेका एक व्यक्तिले उनीमाथि ह्यान्डगन ताकेका थिए ।
अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले ५ गोली भरिएको बन्दुकबाट गोली प्रहार गर्न ट्रिगर दबाउँदा पनि हतियार जाम भएर नपड्किएको बताएका छन् ।
उपराष्ट्रपति किर्च्नर संलग्न भएको भनिएको एउटा भ्रष्टाचार मुद्दाको सुनुवाइमा सहभागी भएर घर फर्किँदा सो घटना भएको थियो । किर्च्नरले आफूमाथि लगाएको आरोप अस्वीकार गर्दै आएकी छन् ।

प्रहरीले हतियारधारीलाई हिरासतमा लिएको जनाएको छ । स्थानीय सञ्चार माध्यमहरूले बन्दुक प्रहार गर्ने ती व्यक्ति ३५ वर्षका ब्राजिलियन नागरिक भएको जनाएका छन् । प्रहरीले हतियारधारीको उद्देश्य के थियो भन्नेबारे छानबिन गरिरहेको छ ।

बिहीबार साँझ देशका नाममा सम्बोधन गर्दै राष्ट्रपति फर्नान्डेजले भने, ‘किष्ट्रिना जिउँदै छिन । किनभने पाँच गोली भरिएको बन्दुक पड्किएन, किन पड्किएन भन्ने विषयमा प्राविधिक रुपमा पुष्टी भइसकेको छैन । ‘ उनले आक्रमणकारीको भर्त्सना पनि गरेका छन् । किर्च्नरको ज्यान लिने कोसिसलाई सन् १९८३ मा अर्जेन्टिनामा प्रजातन्त्र स्थापनापछिको सबैभन्दा गम्भीर घटना मानिएको छ ।

‘हामी असहमत हुनसक्छौं, हामीमा धेरै गहिरो असहमति हुनसक्छ तर घृणित अभिव्यक्तिले ठाउँ पाउनु हुन्न किनभने यो हिंसाको बीउ हो र प्रजातन्त्रमा हिंसा अस्तित्वमा रहन सक्दैन,’ राष्ट्रपति फर्नान्डेजले भने । उनले प्रजातन्त्र र उपराष्ट्रपतिप्रति ऐक्यवद्धता व्यक्त गर्नका लागि शुक्रबार सार्वजनिक विदाको घोषणा गरेका छन् ।

स्थानीय सञ्चार माध्यममा आएका फोटोहरूमा एक व्यक्तिले उनको अनुहार नजिकै बन्दुक लगाएको र प्रहार गरेको कोसिस गरेको देखिन्छ । त्यसपछि उनले टाउको झुकाएको देखिन्छ तर गोली भने प्रहार भएन । किर्च्नर सन् २००७ देखि सन् २०१५ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिइन् ।

Comments

ताजा खबर