अश्लील र अराजनीतिक आरोप

२०७९, २० बैशाख मंगलवार १५:५०

काठमाडौं: अहिले प्रतिपक्षी नेकपा एमाले समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता बिकाउन क्रियाशील छ भने सत्तापक्षीमध्ये नेपाली कांग्रेस लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिको नारा बेच्दै हिँडेको छ । सत्तापक्षकै नेकपा माओवादी व्यवस्था होइन, अब अवस्था फेर्ने प्रचारबाजीमा लागेको छ भने जसपाले पहिचान, संघीयता, सुशासन र सदाचारको मार्केटिङ गर्दै छ । यी घोषणा, प्रचार, नाराको मार्केटिङको नेपथ्यमा भने राज्यबाट बहिष्कृत र सत्तासीन वर्गबाट उत्पीडितजनलाई सचेत, संगठित र संघर्षशील बनाईकन सामाजिक संरचना फेर्ने र जनजीवनलाई सहज पार्ने स्थानीय सरकारको वैचारिकी छैन; त्यसभन्दा बेसी मात्रामा विकासप्रतिको अन्धविश्वास बेच्ने राजनीतिक ठेकेदारको काल्पनिकी प्रभावशाली देखिन्छ । यही काल्पनिकी बिक्री–वितरण गर्दै जसरी पनि स्थानीय निकायको स्वायत्ततासँगै स्रोत–साधन–शक्ति खल्तीमा हाल्न अनेक ‘चुनावी फन्डा’ उपयोग हुन थालेको देखिन्छ, घोषणापत्रबारे दलका नेताहरूबाट थालनी भएको नयाँ शीतयुद्ध हेर्दा ।

घोषणापत्र र चुनावी नाराको स्वामित्वबारे भएका अश्लील आरोप–प्रत्यारोप खासमा स्थानीय सत्तामाथि हानथाप र त्यसका लागि आफ्नो काल्पनिकीसँग जन–मत साट्ने निहित उद्देश्यको प्रस्ट संकेत हो । नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक भएलगत्तै एमालेका दलपति खड्गप्रसाद शर्मा ओलीले आफ्नो ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा चोरेको र पागलहरूको प्रलाप भएको आरोप लगाउन भ्याए । त्यसविरुद्ध कांग्रेसका महामन्त्री गगन थापाले ‘लजिक’ (तर्क) को सट्टा ‘म्याजिक’ (जादु) मन पराउने ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु भन्दै प्रतिवाद गरे । त्यसपछि एकले अर्कोलाई ट्युसन पढाउने र गालीगलौज गर्ने चुनावी फन्डाको क्रम तीव्र र व्यापक भयो, जसको प्रतिध्वनि आफूलाई सर्वश्रेष्ठ उम्मेदवार र आफ्नो दललाई सर्वोत्कृष्ट पार्टी मान्नेहरूबाट अरूलाई ‘पागल’ वा हीन ठान्दै गरेका अन्य अश्लील र अराजनीतिक आरोपमा देख्न–सुन्न पाइन्छ । यसले अस्वस्थ र अराजनीतिक प्रतिस्पर्धा मात्रै होइन, विकासे काल्पनिकीमाथि एकाधिकारको आकांक्षालाई उजागर गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु