किन सिटामोलको ‘डोज’ बढाउने निर्णय गर्यो सरकार

२०७८, १४ चैत्र सोमबार १५:२८

काठमाडौँ: प्रचलित ५०० मिलिग्राम (एमजी) को सट्टा ६५० एमजीको सिटामोल उत्पादन गर्न दिने सरकारी निर्णयको चर्को विरोध भएको छ । नेपाल फर्मास्युटिकल एसोसिएसन, उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले सिटामोलको मूल्यवृद्धि गर्ने बहानामा क्लिनिकल परीक्षणबिना दिइएको उत्पादन अनुमति अविलम्ब फिर्ता लिन माग गरेका छन् ।

६५० एमजीको सिटामोल उत्पादनको निर्णय रोक्न माग गर्दै मञ्च र संघले राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराएका छन् । यसअघि औषधि व्यवस्था विभाग आफैंले ६५० एमजीको औषधि उत्पादन तथा बिक्री अनुमति नदिने निर्णय गरेको रअनुसन्धान तथा क्लिनिकल ट्रायलसमेत नभएकाले औषधि सल्लाहकार समिति बैठकको निर्णय रोक्न उनीहरूले माग गरेका छन् ।
‘यसअघि विभागले ६५० एमजीको औषधि उत्पादन र बिक्री अनुमति नदिने निर्णय गरेको थियो, अहिले उत्पादक र व्यापारीको दबाबमा स्वार्थ समूहका लागि निरन्तर गलत निर्णय भएको छ,’ संघका अध्यक्ष अमृत खनाल र मञ्चका केन्द्रीय सचिव हरिप्रसाद मैनालीद्वारा जारी विज्ञप्तिमा छ, ‘विभागका निर्णय र कामकारबाहीमाथि तत्काल छानबिन गर्न अनुरोध छ ।’

यस्तै देशभरिमा करिब १ हजार १ सय ‘फर्मासिस्ट’ सदस्य रहेको एसोसिएसनले जारी गरेको विज्ञप्तिमा निर्णय गलत मनसायले भएको ठहर गरिएको छ । ‘पारासिटामोल ५०० मिलिग्रामको उपलब्धता सहज गर्न समयसापेक्ष मूल्य समायोजन नगरी बढी डोजको चक्की दर्ता गर्ने निर्णय गलत मनसायले गरेको ठहर छ,’ विज्ञप्तिमा छ । एसोसिएसनका अनुसार नयाँ औषधि, औषधिको नयाँ बनावट वा डोज दर्ता गर्दा दर्तामै रहेको औषधिभन्दा प्रभावकारिता, जोखिम/लाभ, जनस्वास्थ्यमा पर्ने असर, मूल्यलगायत अन्य वैज्ञानिक तथ्य र प्रमाणका आधारमा हुनुपर्छ तर वैज्ञानिक प्रभावकारिता, जनसुरक्षालगायतका आधारलाई नजरअन्दाज गरी ६५० मिलिग्राम सिटामोल चक्की दर्ता गर्ने निर्णय खेदजनक छ ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (यूएस/एफडीए), बेलायतका मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्सन रेगुलेटरी एजेन्सी (यूके एमएचआरए), युरोपियन मेडिकल एजेन्सी (ईएमए) जस्ता स्ट्रेन्थ रेगुलेटरी अथोरिटी (एसआरए) भनिने विश्वका विकसित देशको नियामक निकाय आदिले ६५० मिलिग्रामको पारा सिटामोलको ‘सस्टेन्ड रिलिज/एक्सटेन्डेड रिलिज’ मा मात्र बजारीकृत गर्ने अनुमति प्रदान गरेको एसोसिएसनले जनाएको छ । ‘सो मात्रामा इमिडिएट रिलिज ट्याब्लेट दर्ता नरहेको हुनाले पनि सो कार्यको औचित्य पुष्टि हुन सक्दैन,’ विज्ञप्तिमा छ ।

एसोसिएसनका महासचिव एवं वरिष्ठ फर्मासिस्ट ललितमोहन पन्तका अनुसार ५०० मिलिग्रामको पारासिटामोल चक्की ‘इमिडिएट रिलिज’ अर्थात् खानासाथ एकैचोटि रगतमा जान उपलब्ध हुन्छ तर विदेशमा पाइने ६५० एमजी वा बढी मात्राको पारासिटोमोल एक्सटेन्डेड रिलिज/सस्टेन्ड रिलिज चक्की निर्धारित समयभित्र रगतमा अलि–अलि मात्रामा जानलाई उपलब्ध हुन्छ । ५०० मिलिग्रामभन्दा ६५० मिलिग्रामको तुलनात्मक लाभ के छ भन्ने कुरामा प्रमाण आधारित छलफल हुनुपर्नेमा वैज्ञानिक वा तार्किक छलफलसमेत नभई मनलाग्दी ‘डोज’ राख्दा जनस्वास्थ्यमा असर पर्ने एसोसिएसनले जनाएको छ ।

मञ्च र संघले पनि औषधिको मूल्यवृद्धि गर्नका लागि उत्पादकको दबाबमा विभागले गलत निर्णय गरेको दाबी गरेका छन् । विकसित देशका नियामक निकायले हालसम्म ६५० एमजीको सिटामोल उत्पादन तथा वितरणलाई अनुमति नदिएको विज्ञप्तिमा उल्लेख छ । ‘अध्ययन, अनुसन्धान र परीक्षणबिना एमजी बढाउनु दिनुमा सिधै स्वार्थ झल्किन्छ,’ मञ्चका केन्द्रीय सचिव हरि पराजुलीले भने, ‘आइतबार प्रधानमन्त्री कार्यालय र सतर्कता केन्द्रमा निवेदन दर्ता गराएका छौं । सरकारी अधिकारीले कारबाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका छन् ।’

संघका अध्यक्ष अमृत खनालले सतर्कता केन्द्रमा सहसचिव हरि शर्मालाई निवेदन बुझाएको जानकारी दिए । ‘निवेदन दर्ता भइसकेको छ, एक ट्याब्लेटमा ३ रुपैयाँ पुर्‍याउने खेल भइरहेको छ,’ उनले भने, ‘स्वास्थ्यलाई असर गर्ने काम नगरौं ।’ पारासिटामोलको ५०० मिलिग्रामको सट्टा ६५० मिलिग्राम चक्की प्रयोग गर्दा दिनमा चार चक्की प्रयोग गर्ने हिसाबले दैनिक ६०० मिलिग्राम र १० वटा चक्कीको एउटा स्ट्रिपमा १५०० मिलिग्राम बढी प्रयोग हुने, साथै औषधि–औषधिबीचको प्रतिक्रियाको बढी सम्भावना रहने उनले जनाए ।

अध्ययनअनुसार दैनिक ४ ग्राम पारासिटामोल प्रयोग भएमा कलेजोका विफलता (एक्युट लिभर फेल्योर) तीव्र हुने सम्भावना रहन्छ । दैनिक मदिरा सेवन र ग्लुटाथियोन इन्जाइमको कमीको अवस्थामा जोखिम अझ बढी हुन्छ । कलेजोमा पारासिटामोलको विषाक्तता (लिभर टक्सिसिटी) गम्भीर प्रकारको अर्थात् अस्पताल भर्ना हुनुपर्ने, स्थायी अपांगता वा मृत्युसमेत हुन सक्ने खालको भएको एसोसिएसनको धारणा छ ।

एसोसिएसनका अनुसार सन् २०२१ मा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले लिभर फेल्योरको ५० प्रतिशतसम्म कारण पारासिटामोलको दुरुपयोग रहेको देखेर प्रेस्क्रिप्सन पारासिटामोल (धेरैजसो कम्बिनेसन औषधि) मा ३२५ मिलिग्रामभन्दा बढी नराख्ने निर्णय गर्‍यो । यूएस एफडीए पारासिटामोलबारे जागरुकता जगाउने गठबन्धन (एसिटामिनोफेन एवेरनेस कोइलिसन) को सदस्य पनि हो ।

त्यस्तै, सन् २०१७ मा ईएमएमा ‘मोडिफाइड रिलिज’ को आवश्यकताभन्दा बढी मात्रा व्यवस्थापन गर्न गाह्रो हुने भएकाले बन्द नै गरेको छ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले भारत र यूएसएफडीएले स्वीकृत गरिसकेकाले यहाँ फेरि खोजबिन जरुरी नभएको बताए । ‘कोभिडको लहरमा ६५० एमजीले अत्यन्त महत्त्वपूर्ण रह्यो, ६५० एमजी उत्पादन भए पनि ५०० एमजी बन्द हुने पनि होइन,’ उनले भने, ‘अन्य मुलुकमा प्रयोग भइरहेको छ । कोभिडकै बेला चाहिएको थियो, दर्ता गर्नै ढिलाइ भइसक्यो ।’

पाण्डेका अनुसार मुलुकमा १ सय ३ औषधि उद्योग छन्, तीमध्ये ३ उद्योगले ६५० एमजीको माग गरेका हुन् । मूल्यको हकमा सबैभन्दा सस्तो नेपालमै भएको उनले दाबी गरे । ‘भारतमा प्रतिट्याब्लेट ३/४ रुपैयाँ पर्छ, त्योभन्दा सस्तो ऐन–नियमअनुसार नै मूल्य तोक्छ,’ पाण्डेले भने ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु