प्राज्ञ प्रतिष्ठान(नास्ट)ले देशैभरका नवप्रवर्तकहरुलाई एकै ठाउँमा जोड्ने तयारी

२०७८, २५ फाल्गुन बुधबार २१:००

काठमाडौँ: नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नास्ट)ले देशैभरका नवप्रवर्तकहरुलाई एकै ठाउँमा जोड्ने तयारी गरेकाे छ । सातवटै प्रदेशमा पुगेर नास्टले नवप्रवर्तकहरुको तथ्यांक र अवस्थाबारे जानकारी लिने गरी देशव्यापी अभियान गत सातादेखि सुरु गरेको छ ।
राष्ट्रिय नवप्रवर्तन विद्युतीय सञ्जाल’ मार्फत नवप्रवर्तकहरुको सूची तयार गरी उनीहरुलाई एउटै प्लेटफर्ममा जोड्न खोजिएको नास्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले बताए । सञ्जालका संयोजक समेत रहेका ढकालले भने, ‘हामीले देशैभरका नवप्रवर्तकहरुको सूची तयार गर्ने र उनीहरुको गरेको कामको प्रोफाइल गर्नका लागि देशव्यापी अभियान थालेका हौं ।’ पहिलो चरणमा सञ्जालको साइट निर्माण भइसकेको छ ।
रोबोटिक एसोसिएसन अफ नेपाललगायतका संस्थासँग सहकार्य गरेर सबै प्रदेशहरुमा नयाँ–नयाँ प्रविधि निर्माण गर्ने युवाहरुसँग अन्तरक्रिया गरिरहेको छ ।
नवप्रवर्तकहरुलाई एउटै प्लेटफर्ममा ल्याउने र उनीहरुको समस्या समाधान गराउनका लागि अन्तरक्रिया सुरु गरिएको ढकालले जनाए । बुधबारसम्म प्रदेश १को धरान, मधेस प्रदेशको वीरगन्ज, सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा नवप्रवर्तक सम्मेलन र उनीहरुको अवस्थाबारे जानकारी लिइएको छ । अभियान अन्तर्गत हरेक प्रदेशमा युवाहरुले बनाएका सामग्रीहरुको प्रदर्शन पनि एकै पटक भइरहेको छ ।

बिहीबार लुम्बिनी प्रदेशको बुटवल र शनिबार गण्डकी प्रदेशमा पोखराको लामाचौरमा अन्तरक्रिया गरिने उनले बताए । नवप्रवर्तनमा काम गर्ने युवाहरुलाई हौसला प्रदान गर्ने र विद्यतुीय सञ्जालमार्फत तथ्यांक संकलन र समाधानका उपायहरु खोजि गर्नेगरी काम भइरहेको ढकालले बताए ।

सूचना पहुँच केन्द्र सञ्चालनमाः

यसैबीच नास्टको घुम्ती सूचना पहुँच केन्द्र सञ्चालनमा आएको छ । विभिन्न ठाउँमा गएर मानिसहरुलाई सूचना प्रविधिसम्बन्धीको जानकारी दिने उद्देश्यले कोरिया सरकारको सहयोगमा निर्माण भएको केन्द्र तीन महिनापछि सञ्चालनमा आएको हो । बसभित्रै निर्माण गरिएको यो केन्द्रमा २० जनालाई आईटी सम्बन्धीका तालिमहरु दिन मिल्छ ।

नास्टले तथ्यांक संकलनका लागि गरिरहेको देशव्यापी अभियान अन्तर्गत नै आईसीटी बस प्रयोगमा ल्याएको हो । हालसम्म ३ सय विद्यार्थीहरुलाई घुम्ती सूचना पहुँच केन्द्रबारे आफूहरुले जानकारी दिएको ढकालले बताए ।

‘आईसीटी बसको टेस्ट ड्राइभ पनि भयो । फिडब्याक पनि राम्रै आएको छ,’ ढकालले भने, ‘नीति निर्माण तहका मानिसहरुलाई आईटी बस लियो भने देशव्यापी रुपमा डिजिटल ग्याप घटाउन सहयोग गर्ने भन्ने कुरा भयो । आईटीमा मोटिभेटिभ गर्ने काम गर्‍यौं ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु