मलाई तपाईहरू भोटसँगै नोट दिएर सहयोग गर्नुस्

२०७८, १९ फाल्गुन बिहीबार १०:१४

कैलाली: विवेकशील साझा पार्टीको प्रदेश संयोजकबाट राजिनामा दिएका व्यवसायी गोपाल हमालले आगामी निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । धनगढीमा आज घोषणा सभाको आयोजनागरी हमालले मेयरमा स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले सभामा सम्बोधन गर्दै आम नगरबासीलाई भोटसँगै नोट दिएर सहयोग गर्न आग्रह गरे । उनले भने ‘मलाई तपाईहरू भोटसँगै नोट दिएर सहयोग गर्नुस्, यसले मलाई सधैँ धनगढी बासीहरूको माग सम्बोधन गर्न झकझकाई रहने छ !’

मेयरमा उम्मेदवारी घोषणा गरेका हमालले नगरबासीले स्वतन्त्र भएर मेयरमा उठ्न गरेको आग्रह बमोजिम आफूले उम्मेदवारी दिने बताउदै उनले विकास हाम्रै पालामा भन्ने अनुभुति हुनेगरी धनगढीको बिकास गर्ने बताए ।

संयोजकबाट राजिनामा दिएका हमाललाई विवेकशील साझाका सम्पूर्ण सदस्यहरूले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । अघिल्लो पटक समेत स्वतन्त्र उम्मेदवारी दिएका हमाल हालका मेयर नृप बहादुर वडसँग पराजित भएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु