चुनावकै बेला भारत जानुको अर्थ के ?

२०७८, १९ चैत्र शनिबार ०८:१४

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न गर्नुभएको छ । स्थानीय तहको निर्वाचनअघि भारत जानु आफैँमा आश्चर्यजनक रहेको उहाँको भनाइ थियो । अनेरास्ववियुको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अरू समयमा नगएर चुनावकै बेला भारत जानुको अर्थ आफूले पनि नबुझेको बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीजी विदेश जानुभएको छ ठ्याक्कै चुनाव अगाडि, किन जानुभको नि ? आएपछि सोध्नुपर्ला यति समयसम्म जानुभएन यति नै बेला किन जानुभयो भनेर ।’ ओलीले कांग्रेसप्रति आक्रोश व्यक्त गर्नुभएको थियो । उहाँले कांग्रेस सरकारमा रहँदा कम्युनिष्ट कार्यकर्तामाथि प्रतिबन्ध रहेको भन्दै कांग्रेसको लोकतान्त्रिक मान्यता नै कम्युनिष्टमाथि प्रतिबन्ध भएको टिप्पणी गर्नुभयो । बिकाउ मालसँग कांग्रेसले अहिले सहकार्य गरिरहेको ओलीको आरोप छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति आक्रामक रूपमा प्रस्तुत हुनुभएका ओलीले माधव नेपाल कम्युनिष्ट नभएर पत्रु तत्व भएको आरोप लगाउनुभयो । ओलीले एमाले सरकारका कामलाई चुनावमा प्रचारप्रसार गर्न निर्देशन दिनुभयो ।

‘कांग्रेसले भारतीय सेना नेपाल भित्र्याएर देशभक्तको टाउको कटाएको थियो’

ओलीले तत्कालीन नेपाली कांग्रेसले भारतीय सेनालाई नेपाल भित्र्याएर देशभक्तहरूको टाउको कटाएको आरोप लगाउनुभएको छ । शुक्रबार अनेरास्ववियुको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन कांग्रेस सरकारले भीमदत्त पन्तलगायत शहीदहरूको हत्या गरेको बताउनुभयोे । साथै विद्यार्थी आन्दोलन दबाउन बिपी कोइराला गृहमन्त्री छँदा दमन गरेको र गोली हानेको भन्दै उहाँले कांग्रेसले विदेशी सेनाको प्रयोग गरी देशभक्तहरूको हत्या गरेको आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘कांग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो । कांग्रेसले विदेशी सेनालाई बोलाएर देशभक्तको टाउको कटाएको थियो । भन्दा नराम्रो लाग्छ । यो सब नेपाली कांग्रेसले गराएको थियो । तर के गर्नु नेपाली कांग्रेस त्यस्तै हो ।’ ओलीले भन्नुभयो । यस्तै ओलीले बिपी कोइरालासहितका नेताको भूमिकाको आलोचना गर्दै विद्यार्थी आन्दोलनले जागरण ल्याएको बताउनुभएको थियो । साथै कांग्रेस, माओवादी लगायतका दलहरूको गठबन्धनलाई लक्षित गर्दै कांग्रेस अहिले पनि लोकतन्त्रविरोधी शक्तिसँग सहकार्य गरेको ओलीको आरोप थियो ।

Comments

ताजा खबर