के पल साह मात्र दोषी हुन? के गर्दैछ प्रहरी

२०७८, १८ फाल्गुन बुधबार १५:४७

काठमाडौं: एक नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि प्रहरी अनुसन्धान जारी छ । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ती गायिकाका बुवाले जबर्जस्ती करणी (बलात्कार) गरेको भन्दै जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा पलविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सुरुको केही दिन प्रहरीलाई छलेका पल गएको आइतबार आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । उनीविरुद्ध जिल्ला अदालतले सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रहरीले पलविरुद्ध प्रमाण संकलनलगायत काम अगाडि बढाएको एक प्रहरी अधिकारीले जानकारी दिए । ती प्रहरी अधिकारीका अनुसार तनहुँबाट पललाई केही दिनपछि गैँडाकोट समेत लगिनेछ ।
पलविरुद्ध आफूलाई मादकपदार्थ सेवन गराई गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अर्को जाहेरी दर्ता भएको छ । पललाई गैँडाकोट लगिए पनि मुद्दा प्रक्रिया भने तनहुँबाटै अगाडि बढ्नेछ । गैँडाकोटमा पलको अनुसन्धान सकिएपछि मिसिलसहित उनलाई तनहुँ पठाइनेछ ।

प्रहरीले पल गैँडाकोटमा बसे/नबसेको रेकर्ड समेत हेर्नेछ । त्यसबाहेक त्यसलाई पुष्टि गर्ने प्राविधिक अनुसन्धान पनि प्रहरीले गर्नेछ ।
उनको बयान भने गैँडाकोटमा समेत हुनेछ । बयान, प्रमाणलगायत सबै कागजातहरू अनुसन्धानपछि तनहुँ जिल्ला प्रहरी कार्यालयलाई नै सुम्पिने तयारी छ ।

पललाई भेट्नका लागि पछिल्लो समय तनहुँमा समर्थकलगायत व्यक्तिको भिड लाग्न थालेको छ । प्रहरीले नजिकका आफन्त र कानुन व्यवसायीबाहेक अरूलाई भेट्न रोक लगाएको छ । पल प्रकरणमा नेपाली कलाकार समेत पक्ष/विपक्षमा बोल्दै आएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु