नारायणघाट–बुटवल सडकको एडिबी राष्ट्रिय निर्देशकद्वारा निरीक्षण

२०७८, ५ फाल्गुन बिहीबार १०:३८

बुटवल । एसियाली विकास बैंक (एडिबी)का राष्ट्रिय निर्देशक आर्नो कोस्वाले नारायणघाट–बुटवल सडकको स्थलगत अवलोकन गरेका छन् । सासेक सडक सुधार आयोजनाअन्तर्गतको यस सडकको ३ र ४ फागुनमा भ्रमण गरेका हुन् ।  कोस्वाले चारवटा पुल निर्माणस्थल, क्रसर प्लान्ट क्षेत्र, ब्याचिङ प्लान्टस्थल, श्रमिक तथा ठेकेदार क्याम्पस्थलको अवलोकन गरे ।

फाइल फोटो

भ्रमणको क्रममा लुम्बिनी प्रदेशको आर्थिक मामिलामन्त्री, भौतिक पूर्वाधारमन्त्री, बुटवलका मेयर, उच्च सरकारी अधिकारी र स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका छन् । अवलोकनपछि सडक निर्माण र मर्मत–सम्भार कार्यले पछिल्ला महिनाहरूमा गति लिएको र यसलाई अझै तीव्रता दिनुपर्ने आवश्यकता देखिएको कोस्वाको भनाइ छ । ‘आयोजना टिम, परामर्शदाता तथा ठेकेदारसँग रचनात्मक छलफल भएको छ र यससँगै स्रोत तथा निर्माण सामग्रीसँग सम्बन्धित सवाल छिट्टै समाधान हुनेछन् भन्नेमा म विश्वस्त छु’ उनले भने । बैठकमा कोस्वाले सन् २०२१ को बाढीका कारण पुल क्षतिग्रस्त भएको ठाउँमा आगामी वर्षाभन्दा पहिले नै पुल निर्माण सम्पन्न गरिसक्न आवश्यक भएकोमा जोड दिए ।

यस सडकखण्डको निर्माण तथा स्तरोन्नति सम्पन्न भएसँगै मानिस तथा वस्तु ढुवानी सहज भई क्षेत्रीय बजार पहुँचमा सुधारले अर्थतन्त्रलाई लाभ प्रदान गर्ने अपेक्षा छ । ‘अब ढिलाइ स्वीकार्य हुँदैन, र आयोजनामा संलग्न सबैले यो रणनीतिक सडक सञ्जाललाई तोकिएको समयमा सम्पन्न गर्न सहकार्य गर्नुपर्छ’ उनले भने ।

आयोजना निर्देशक ढकालले कोभिड–१९ महामारीले काममा केही हदसम्म बाधा पुर्‍याएको बताए । ‘खासगरी निर्माणस्थलमा पर्ने रूख कटान र बिजुलीका पोल सार्ने कार्यमा ढिलाइले आयोजनाको प्रगतिमा अवरोध पुर्‍याएको हो’ उनले भने । अहिले यी समस्या करिब समाधान भइसकेका र ठेकेदारलाई निर्माण कार्यलाई तीव्रता दिन र ढिलाइ भएको समयलाई समेत पूर्ति गर्ने गरी उनीहरूको साधनस्रोत परिचालन गर्न आग्रह गरेको उनले जानकारी दिए ।

एडिबीको वित्तीय सहयोगमा आयोजना नेपालमा १५४ किमि रणनीतिक सडक सञ्जाल (त्यसमध्ये ११३ किमी पूर्व–पश्चिम राजमार्गको हिस्सा) स्तरोन्नति हुँदै छ र यसले देशको आन्तरिक र क्षेत्रीय यातायात सम्पर्कमा सुधार हुनेछ ।

Comments

ताजा खबर