शेयर बजारको रौनक बढेपछि मोफसलका ब्रोकर आत्मनिर्भर बन्न थाले

२०७८, १९ माघ बुधबार १६:०८

काठमाडौं: २०७३ सालमा लमजुङ जिल्लाको बेसी शहरमा शाखा कार्यालय खोल्दा दैनिक कारोबार पाँच लाख रुपैयाँ पुग्न पनि हम्मे हम्मे पर्थ्यो। जतिबेला सुन्धारा सेक्युरुटिजले बेसी शहर जस्तो पहाडी क्षेत्रमा शाखा खोल्ने निर्णय गर्‍यो त्यसबेला पहाडी क्षेत्रमा शाखा खोल्ने हिम्मत गर्नु आँफैमा चुनौती थियो। तर तमाम चुनौतीका बीचमा पनि सुन्धारा सेक्युरुटिजका निर्देशक बद्री गोविन्द श्रेष्ठले बेसी शहरमै सम्भावना देखेका थिए। तर उनले देखेको सम्भावनालाई अन्य ब्रोकर कम्पनीहरूले भने निकै ठूलो जोखिम मोलेको भन्दै प्रतिक्रिया दिन्थे। तर सबै चुनौतीको सामना गर्दै श्रेष्ठले शाखा खोलेरै छोडे।
सुरुवाती दिनमा तीन कोठा भाडामा लिएर कार्यालय सञ्चालन भएकाे शाखामा आउने मानिस असाध्यै कम थिए। किनकी पहाडी क्षेत्रमा शेयर कारोबार गर्ने मानिस असाध्यै न्यून थिए। कारोबार गर्ने मानिस कम भए पनि त्यहाँका स्थानीयको हातमा शेयर भने मनग्गे थियो। किनकि लमजुङ जलविद्युत कम्पनीहरूको हब जिल्ला भएको कारणले पनि सबै जसो स्थानीयको हातमा थोर बहुत शेयर थियो। कुनै कम्पनीको शेयर कुलिङ पिरियडमा थिए भने कुनैको कुलिङ पिरियड सकिएको अवस्था थियो। तिनै सम्भावनाको पहिचान गरेरै श्रेष्ठले त्यहाँ शाखा खोल्ने निर्णय गरेका थिए।

शाखा खुलेको सुरुवाती वर्ष खासै कारोबार गर्न नसकेको शाखाले दोस्रो वर्षबाट भने फड्को मार्न सुरु गर्‍यो। शाखा खोलेको पाँच वर्ष बित्नै लाग्दा शाखाले नाफा नै दिन थालेको छ। कुनै दिन पाँच लाखको समेत कारोबार नगर्ने शाखाले हिजो आज दैनिक एक करोड त न्यूनतम कारोबार गर्छ। गएको दुई वर्ष यता शाखाले दैनिक एक करोड घटी कारोबार गरेको छैन। कारोबार बढ्दै गएपछि तीन कोठामा खोलिएको शाखालाई ठाउँ समेत अपुग हुन थाल्यो। यति बेला शाखाको रूप रङ नै फेरिएको छ। पर्याप्त ठाउँ सहितको फ्ल्याटमा सरेको शाखा झकि झकाउ भएको छ।

सुन्धारा सेक्युरुटिजको मात्रै शाखाले प्रगति गरेको होइन,सबैजसो ब्रोकर कम्पनीका शाखा चालु वर्षसम्म आइपुग्दा नाफामा जान थालेका छन्। उनीहरूका शाखाको भूमिका दैनिक बढ्दो क्रममा छन्। मोफसलका शाखाले कहिलेकाँही केन्द्रकै कारोबारलाई समेत चुनौती दिन थालेका छन्।
भिजन सेक्युरुटिजले पनि आफ्नो पहिलो शाखा बनेपामा खोलेको थियो। उसले पछिल्लो वर्षहरूमा पर्याप्त नाफा दिन थालेको छ। “हाम्रा सबैजसो शाखा नाफामा छन्। कहिले काँही केन्द्रकै कारोबारलाई समेत चुनौती दिँदा अचम्म लाग्छ। पहिले यस्तो गरी मोफसलमा शेयर कारोबार हुँदैनथ्याे। अहिले हाम्रो समग्र कारोबारको ४० प्रतिशत कारोबार शाखाहरूले गर्छन्” भिजन सेक्युरुटिजका सञ्चालक राजकुमार तिम्सिनाले मेरो लगानीसँग भने।
शाखाहरू नाफामा जानु भनेको उक्त क्षेत्रहरूमा बस्ने मानिसहरू शेयर बजारमा सक्रिय हुँदै जानु हो। जति जति मोफसलमा शेयर बजारको रन्को चढ्दै गएको छ। त्यति त्यति मोफसलका कारोबार बढ्दै गएका हुन्। जति जति लगानीकर्ता बढ्दै छन्। त्यति त्यति मोफसलमा शाखाले प्रगति गर्दै छन्। लगानीकर्ता निश्चित ठाउँमा मात्रै बढेका छैनन्। सबै क्षेत्रमा शेयर लगानीकर्ता दैनिक बढिरहेका छन्। तर शाखा पुगेका ठाउँमा अलि बढी र नपुगेका ठाउँमा थोरै कम वृद्धिदर रहेको दीपशिखा धितोपत्र कारोबार कम्पनीका सञ्चालक दीपकराज ओली बताउँछन्। “दैनिक हजारौँको सङ्ख्यामा लगानीकर्ता बढिरहेका छन्। शाखा भएको ठाउँमा अलि बढी र नभएको ठाउको वृद्धिदर अलि कम छ” ओलीले भने। दीपशिखाको धनगढी र चितवनमा शाखा छन्। दुवै शाखा नाफामा छन्।

मोफसलको शाखाहरू नाफामा जान सबैभन्दा बढी अहिले आएको शेयर बजार प्रतिको सचेतना र प्रविधिले मारेको फड्को नै रहेकाे ओलीको भनाइ छ। “अनलाइन आउनु भन्दा अघि नै हाम्रो धनगढीमा शाखा थियो। तर त्यस बेला केन्द्रले नै उक्त शाखा धान्नु पर्ने स्थिति थियो। तर जब अनलाइन आयो त्यसपछि कारोबार त बढेकै छ। लगानीकर्ता पनि दैनिक रुपमा बढिरहेका छन्। शेयर बजारमा लगानी गर्नु पर्छ भन्ने चेतना अहिले गाउँमा व्याप्त हुँदै गएको छ भने अर्को तर्फ अनलाइनले जुन सहजता प्रदान गरेको छ। त्यसैले अहिले शेयर कारोबारी बढाउन सबैभन्दा ठूलो भूमिका खेलेको छ ” ओलीले भने।

नेपाल स्टक एक्सचेन्जका अनुसार हाल ५० ब्रोकर कम्पनीले काम गरिरहेका छन् भने ती मध्येका ४७ शाखा मुलुकभर सञ्चालनमा छन्। कुल ९७ वटा ब्रोकर कार्यालयबाट शेयर किनबेच हुन्छ। जति जति ब्रोकरका शाखा बढ्दै गएका छन्। त्यति त्यति नै दैनिक औसत कारोबार समेत बढ्दै गइरहेको नेप्सेले जनाएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु