लुम्बिनी: रूपन्देहीको तिलोत्तमा–२ जानकीनगरकी अमृता खत्री टन्डनको शव अस्पतालमा राखेको मंगलबार ४८ दिन बित्यो । निष्पक्ष छानबिनका लागि दबाब दिँदै आए पनि भिसेरा परीक्षणको रिपोर्ट आउन नसकेको माइती पक्षले बताएका छन् । अनुसन्धानमा असन्तुष्टि जनाउँदै अन्तिम संस्कार गर्न नमानेपछि उनको शव लुम्बिनी प्रादेशिक अस्पतालको फ्रिजमै राखिएको छ ।
केटा पक्षले अमृताले आत्महत्या गरेको बताउँदै आएको छ भने माइतीले यातना दिएर हत्या गरिएको दाबी गरिरहेका छन् । अमृताको चैत ३० गते मृत्यु भएको थियो ।
२९ वर्षीया छोरीको मृत्युपछि नातिको मुख हेरेर मन बुझाइरहेको अमृताकी आमा सावित्राले सुनाइन् । ‘बाबुलाई हेर्दा झलझली छोरीको सम्झना आउँछ,’ उनले भनिन्, ‘उसको मनको कुरा बुझ्न सकेको भए यस्तो हत्ते हुने थिएन ।’
घरनजिकैको मणिमुकुन्द कलेजमा स्नातक प्रथम वर्षमा पढ्दै गर्दा अमृताले नौ वर्षअघि प्रेम टन्डनसँग प्रेमविवाह गरेकी थिइन् । काठमाडौंमा मन्दिरबाट विवाह गरेर उनीहरू भारत गएका थिए । चार वर्षपछि मात्रै माइतीनजिकै घर बनाएर बस्ने गरी अमृता फर्किएकी थिइन् । ‘भारतमा हुँदा कस्तो थियो, छोरीले त्यति भन्थिनन्,’ सावित्राले भनिन्, ‘नाति जन्मिसकेपछि यहीं राखेर छोरीलाई भारत पठाइरहन्थें ।’
श्रीमान् उतै जागिरे भएकाले अमृताकी सासू पनि भारत जान्थिन् । त्यसक्रममा बचन लगाउने, गाली गर्ने र नभएका कुरा लगाएर छोराबाट कुटाइ खुवाउने गरेको सुनेको अमृताका दाजु पुष्पकले सुनाए । गत वर्ष जेठपछि मात्रै उनले आफ्नो पीडा बताउन थालेको पुष्पकको भनाइ छ । ‘बहिनी फर्निचर उद्योगमा काम गर्थिन्,’ उनले भने, ‘कमाएको पैसा नदिए रिसाउने, नराम्रो बचन लाउने गर्दा रहेछन् ।’
गत भदौ ३ मा अमृताले वडा कार्यालय पुगेर श्रीमान् तथा परिवारले दाइजो नल्याएको भन्दै सताउने गरेकाले घरमा बस्ने वातावरण नरहेको व्यहोरा खुलाउँदै उजुरी दर्ता गरेकी थिइन् । त्यसपछि वडाले घर र माइतीपक्षलाई कार्यालयमा बोलाएको थियो । ‘परिवार हो, सानातिना झगडा हुन्छन् भनेर सम्झाएका थियौं,’ पुष्पकले भने । भदौयता छोरासित छुटाउन खोज्ने, श्रीमान्ले कुरा नगर्ने गरेको बहिनीले सुनाएको उनले सुनाए । उनका अनुसार अमृता माइती आएका बेला मलाई गाली मात्र गर्छन्, घर जान्न भनेर गुनासो मात्रै गर्थिन् ।
मृत्युको एक दिनअघि चैत २९ गते अमृता माइतीमै थिइन् । ज्वाइँले पटकपटक फोन गरेर घर जानैपर्ने बाध्यतामा पारेको पुष्पकको भनाइ छ । ‘भान्जालाई जे पनि हुन सक्छ भनेर राति साढे ८ बजेपछि घर पठाइयो,’ उनले भने । पुष्पकका अनुसार घर पुगेपछि अमृताले ‘म यहाँ बस्न सक्दिनँ, मलाई बचाउनुहोस् दाइ, म मर्न चाहन्नँ’ भनेर म्यासेज पठाएकी थिइन् । राति ९ बजेपछि ज्वाइँले फोन गरेर पुष्पकलाई ‘अमृताले विष सेवन गरेकाले चाँडै अस्पतालमा आउन’ भनेका थिए । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले अमृताको मृत्यु भइसकेको घोषणा गरे ।
शव जलाएरमात्रै न्याय नमिल्ने भएकाले आफूहरूले रिपोर्ट पर्खिरहेको पुष्पक बताउँछन् । ‘मेरो बहिनी मात्र होइन, अरू चेलीको जान सक्छ भनेर निरन्तर आन्दोलन र अदालत घेराउ गरिरहेका छौं,’ उनले भने । अदालतमा केटा पक्षको बयान सकिएर सासूससुरा २/२ लाख धरौटीमा छुटिसकेका छन् । अमृताका श्रीमान् जेलमा छन् । आठ वर्षीय छोरा भने मामाघरमा छन् ।
अमृताका तर्फबाट मुद्दा हेरिरहेका सरकारी वकिलले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दर्ता गरी धरौटीमा छुटेका सासू र ससुरालाई समेत थुनामा राख्नुपर्ने माग गरेका छन् । उक्त निवदेनमाथि अर्को बिहीबार बहस हुनेछ । अमृताका श्रीमान् प्रेम थुनामा रहेको तर आमाबुबा धरौटीमा छुटेकाले मुद्दा पुर्पक्षका लागि प्रतिवादीलाई समेत थुनामा राख्न भनी उच्च सरकारी वकिल कार्यालय बुटवलमा निवेदन लेखी पठाएको रूपन्देही जिल्ला अदालतका वकिल पुणेन्द्र पाण्डेले बताए । रूपन्देही प्रहरीका प्रवक्ता नवरत्न पौडेलले अमृताको मृत्यु प्रकरणमा अनुसन्धान गरी अदालतमा रिपोर्ट बुझाइसकेको बताए । ‘हामीले अदालतमा रिपोर्ट पेस गरेका छौं, अब अदालतको फैसला नै अन्तिम हुन्छ,’ उनले भने ।
यसअघि तिलोत्तमा–५ की सीता भण्डारी पौडेल गत भदौ २० गते आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको हत्या भएको दाबी गर्दै माइती पक्षले घटनामा संलग्नलाई कारबाही नहुँदासम्म शव नबुझ्ने अडानसहित डेढ महिनासम्म आन्दोलन गरेका थिए । प्रहरीले सीताले झुन्डिएर आत्महत्या गरेको निष्कर्ष सार्वजनिक गरेपछि विवाह गर्दा लागेको १० लाख र सापटी लिएको १ लाख रुपैयाँसहित ११ लाख केटा पक्षले फिर्ता गर्ने सहमतिपछि ४६ औं दिनमा सीताको अन्त्येष्टि भएको थियो ।
पोहोर जेठ १४ गते दिउँसो सैनामैना नगरपालिकाको बर्माचोकस्थित आफ्नै निवासमा २३ वर्षीया विनीता भट्टराई झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । माइतीले केटा पक्षले यातना दिएकाले मृत्यु भएको दाबी गरेको थियो । विनीताका श्रीमान् ३० वर्षीय प्रदीप र उनकी आमा कुर्त भट्टराई आत्महत्या दुरुत्साहन मुद्दामा २८ दिन थुनामा बसेपछि ९ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । विवाह भएको २७ दिनमा उनको मृत्यु भएको थियो ।
अमेरिका जाने तयारी गरिरहेकी बुटवल–१२, ढवाहाकी अनिता रेग्मी असोज २० गते झुन्डिएको अवस्थामा फेला परिन् । श्रीमान् अमेरिकामै थिए । परिवारका अनुसार श्रीमान्ले आफूसित भएका गहना लिएर आऊ भनेका थिए । त्यसपछि गहना लैजाने विषयमा सासू र देवरलाई चित्त नबुझेपछि विवाद भएको थियो । माइती पक्षले हत्या भएको जाहेरी दिएपछि सासू र देवरलाई आत्महत्या दुरुत्साहन मुद्दा चलाएर कारबाही गरिएको थियो ।
यी सबै घटनाका विषयमा अनुसन्धान पूरा गरेर अदालतमा रिपोर्ट बुझाएपछि प्रक्रिया अघि बढेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए । ‘अनुसन्धान सकिएकाले यी विषयमा धेरै बोल्न मिल्दैन,’ उनले भने, ‘अदालतको निर्णयअनुसार सजाय भोगिरहेका छन् ।’ धेरै कुरा सहन नसक्ने अवस्था, देखासिकी तथा अन्य कारण यस्ता घटना भएको हुन सक्ने उनको भनाइ छ ।
राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख सन्तोष आचार्यले यस्ता घटनामा प्रहरीको अनुसन्धान कहाँ पुग्यो ? किन ढिलाइ भयो भनेर सोध्ने गरिएको बताए । ‘अदालतमा पुगेको मुद्दामा सोधखोज गर्न मिल्दैन,’ उनले भने । सामाजिक, सांस्कृतिक परम्परा वा मनोवैज्ञानिक विषयले यस्ता घटना हुने गरेको उनको भनाइ छ । ‘यसका लागि शिक्षा, ज्ञान र चेतना जरुरी छ,’ उनले भने, ‘सामाजिक विकृतिले पनि यस्ता घटनामा भूमिका निर्वाह गरिरहेको छ ।’