मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना, मापदण्ड पालना नगर्ने सवारीलाई पनि कारबाही

२०७८, ६ माघ बिहीबार २०:२८

६ माघ, काठमाडौँ । कोरोना महामारीको तेस्रो लहरको रोकथामका लागि भन्दै काठमाडौँमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न थालेको छ ।

आकस्मिक अनुगमन गरी मास्क नलगाउनेलाई जरिबाना तिराउन थालिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए l

उनकाअनुसार मास्कसहित जनस्वास्थ्यका मापदण्ड पालना भए÷नभएको बारे टोली नै बनाएर निगरानी थालिएको हो । हिजो कलङ्की, कालीमाटी, सुन्धारा, बालाजु, माछापोखरी, नयाँ बसपार्क लगायतका क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा कोरोना र स्वास्थ्यका मापदण्ड पालनाबारे जानकारी पनि गराइएको छ । यस्तै, मास्क नलगाइ किनमेल गर्ने र सार्वजनिक गाडीमा ओहोरदोहोर गर्नेेहरुलाई एक सय रुपैयाँ जरिबाना पनि तिराइएको उनले बताए ।

सङ्क्रामक रोग ऐनमा माहामारी रोकथाम गर्न दिइएको आदेशको अवज्ञा गर्नेलाई कारबाही हुने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार कारबाही थालिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । कार्यालयले बजार पसलमा भिड नगर्न, सार्वजनिक गाडी र ठाउँमा यात्रा गर्दा मास्क अनिवार्य लगाउन आग्रह गरेको छ ।

यस्तै, अहिले कोरोना विरुद्धको खोप लगाउने खोप केन्द्रमा देखिएको भिड नियन्त्रणका लागि पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले तयारी थालेको छ ।

खोप केन्द्रलाई व्यवस्थित गर्न खुला ठाउँमा खोप दिनेबारे छलफल भइरहेको र छिट्टै टुङ्गोमा पुगिने सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले बताए । यसैबीच, सरकारले सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने मापदण्ड लागू गरे पनि त्यसको पालना भएको छैन ।

सार्वजनिक गाडीमा अहिले पनि भिड उत्तिकै छ भने कतिपय यात्रु र गाडीका चालक सहचालकसमेतले मास्क लगाउने गरेका छैनन् । तर, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले भने मापदण्ड पालना नगर्ने गाडीलाई कारबाही थालेको दाबी गर्छन् ।

उनले सिट क्षमताभन्दा बढी यात्रु चढाउने र स्यानिटाइजर नराख्ने सार्वजनिक गाडीका बारेमा ट्राफिक प्रहरीको टोल फ्रि नम्बर १०३ मा सम्पर्क गरी सूचना दिन पनि आग्रह गरेका छन् । त्यस्ता गाडीलाई पाँच सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिबाना हुनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु