नेप्से सूचक ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा माथि तिर जाने प्रयास गर्दै नेप्से

२०७८, २९ पुष बिहीबार १६:२१

काठमाडौं : पुसको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकले उत्साह भर्ने काम गरेको छ । बुधबार सामान्य करेक्सन भएको बजारमा बिहीबार फेरि रौनकता छाएको हो । यस दिन नेप्से सूचक ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा आइपुगेको छ । ६ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजार थप केही करेक्सन हुन लागेको हो कि भन्ने आम आशंकाको बीचमा नेप्से फेरि सकारात्मक बनेको हो ।

यसअघि लामो समयसम्म बजार घटेको, भाउ सस्तो भएको अनि तरलता सहज हुँदै गएको सन्दर्भमा सेयर बजारको माहोल फेरि सकारात्मक बनेको हो । तलमाथि गर्नु नै सेयर बजारको चरित्र हो । यसअघि साढे चार महिनाको अवधिमा बजार अस्वभाविकरुपमा घटेको थियो । बजार जसरी घटेको थियो, त्यसरी नै बढ्नेक्रममा लागेको विश्लेषकहरु बताउँछन् । पुस सुरु भएसँगै बजार बढ्दो प्रवृत्तिमा देखिन सुरु भएको हो ।

माघ लागेपछि बजारमा अझै सुधार हुन्छ भन्ने लगानीकर्ताको मनोविज्ञान रहेको छ । यसअघि साढे ४ महिनाकै अवधिमा नेप्से सूचकमा झन्डै ३०% को गिरावट आएको थियो । बजारले झन्डै १३ खर्ब बजार पुँजीकरण गुमाएको थियो । बुल बजारमा छोटो समयमा आएको यो करेक्सन निकै ठूलो मानिएको थियो । यसरी भारी करेक्सन हुँदा सेयर भाउ निकै तल्लो विन्दुमा आयो । सोही कारण एकाएक लगानीकर्ताहरु आकर्षित भएका हुन् ।

सस्तो भाउमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबैप्रकारका लगानीकर्ता उत्साहित भएका छन् ।  बजार बढ्नुमा सरकार तथा केन्द्रीय बैंकले लिएका पछिल्ला नीतिहरु पनि निकै सहयोगी बनेका छन् । स्थानीय तहमा जाने बजेटमध्ये ८०% लाई निक्षेपमा गणना गर्न पाइने, आयातमा कडाई, सुनचाँदी आयातमा पनि नियन्त्रण अनि डलर लैजान पाउने सीमामा नियन्त्रण लगायतले आन्तरिक बजारमा तरलता सहज हुँदै जाने अपेक्षा गरिएको छ ।यसैगरी, बिमा समितिले बिमा कम्पनीहरुलाई नगद लाभांश दिन रोक्ने र बोनसमा जोड दिने निर्णय गरेको छ । हाम्रो बजारले बोनस सेयर रुचाउने भएकाले पनि यसको सकारात्मक प्रभाव बिमा कम्पनीहरुको बजार मूल्यमा परिरहेको  छ । यस्तै, माघ लाग्नै लाग्दा सरकारी खर्च बढ्ने प्रक्षेपणहरु भइरहेका छन् । कोरोना संक्रमण फैलिन थालेकाले लगानीका अरु क्षेत्रहरु संकुचित हुन थालेका छन् ।

यस्तै, स्थानीय निकायको निर्वाचन मिति पनि नजिक आइसकेको छ । चुनावका कारण पनि तरलता थप सहज हुने अनुमान गर्न सकिन्छ । यी कारणहरुले नै अहिले सेयर बजारमा चमक आएको हो । यसअघि बजार जसरी घटेको थियो, अब त्यसरी नै वृद्धि हुने विश्लेषकहरुको भनाई रहेको छ ।

बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धा, कम्पनीहरुको चुक्ता पुँजी कति छ ? नियमनको अवस्था कस्तो छ ? भन्ने विषयतर्फ पनि अध्ययन गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् ।

लगानीकर्ताले कुन उद्देश्यले सेयर किन्ने हो ? आफू इन्भेष्टर र कि ट्रेडर भन्नेसमेत ध्यान दिंदै सोही अनुसार रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । ग्रोथ स्टक छान्ने कि ब्लुचीप भन्ने पनि लगानीकर्ता आफैंले निर्णय गर्ने हो । आफूलाई चाहिने नाफा प्रतिशत, होल्ड गर्ने अवधिका बारेमा पनि सचेत हुनुपर्ने उनीहरुको भनाई रहँदै आएको छ ।

यस दिन अन्यबाहेक बाँकी सबै समूहको सूचकमा वृद्धि देखिएको छ । हाइड्रोपावर, फाइनान्स, बिमा लगायतका समूहहरुमा बढी तेजी आएको छ । ४ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ । ३४ करोड ३१ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अपर तामाकोशी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र निफ्रा परेका छन् । २२४ कम्पनीको १ करोड १८ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

Comments

ताजा खबर