हावा भर्ने ट्यांकी पड्किँदा शुक्रबार रौतहटको कटहरिया नगरपालिकामा एक जनाको मृत्यु

२०७८, ४ मंसिर शनिबार ०४:०७

वीरगञ्ज – हावा भर्ने ट्यांकी पड्किँदा शुक्रबार रौतहटको कटहरिया नगरपालिकामा एक जनाको मृत्यु भएको छ।

ग्यारेजमा रहेको हावा भर्ने ट्यांकी पड्किँदा कटहरिया नगरपालिका–५ निवासी २० वर्षीय सम्सुल मियाँको मृत्यु भएको हो।

मियाँले सञ्चालन गरेको ग्यारेजमा रहेको हावा भर्ने ट्यांकीमा पम्पसेट चलाएर हावा भर्ने क्रममा अचानक पड्किएको थियो।

ट्यांकी पड्किँदा घाइते भएका मियाँलाई उपचारका लागि वीरगञ्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवले जानकारी दिए।

ट्यांकीको फलामको टुक्रा लागेर ग्यारेजमा बसिरहेका २५ वर्षीय जैसी यादव घाइते भएका छन्। उनको वीरगञ्जमा उपचार भइरहेको छ।

Comments

ताजा खबर