आज हरिबोधिनी एकादशी

२०७८, २९ कार्तिक सोमबार १२:५८

हरिबोधिनी एकादशीलाई एकादशीहरुमा सबैभन्दा ठूलो एकादशीका रुपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो ।

जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।

तस्विर सुवास गैरे

आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, साँस्कृतिक र वैज्ञानिक रुपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।

वैदिक सनातन सँस्कारमा तुलसी पूजाको ठूलो महत्त्व छ । हजारौँ वर्षदेखि सनातन सँस्कारीहरु प्रातःकालमा नै उठेर तुलसीमा पानी चढाएर र नमन गरेर मात्र आफ्नो दैनिकीमा लागेको पाइन्छ ।

वैदिक सनातनमा तुलसीको महत्त्व प्रत्येक विशेष उत्सव वा कुनै धार्मिक कार्यमा पनि रहँदै आएको छ । मानिसको जन्म हुँदा होस् या मृत्यु हुँदा नै किन नहोस्, सनातनी सँस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ, यसको महत्त्व रहेको छ ।

हिन्दू धर्मालम्बीहरुले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ । तुलसीको पातको पनि विशेष महत्त्व रहेको छ । अनि तुलसीको डाँठबाट बन्ने मालालाई त निकै पवित्र मानिन्छ ।

तुलसीको महत्त्वको विषयमा पद्म पुराणको एउटा प्रसंगलाई लिन सकिन्छ । बिन्दा देवीले पृथ्वीमा आएर भगवान विष्णुलाई आफ्नो पतिको रुपमा पाउन गरेको तपस्यासँग तुलसीको महत्त्व जोडिएको छ । त्यस्तै, श्रीमद् भागवत पुराणमा पनि तुलसीको बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको छ ।

भोजनमा सधैं तुलसीको पात पनि राख्ने भगवान श्रीकृष्णसँग पनि तुलसीका विभिन्न प्रसंगहरु जोडिएका छन् । त्यसैले पनि अन्जुलीभर पानी लिएर तुलसीको पातमा सफा हृदयले अर्पण गर्दा मात्रै पनि श्रीकृष्ण भगवानको कृपाले आफूले चाहेको फलहरु मिल्ने विश्वास पनि गरिएको छ । स्कन्द पुराणमा पनि तुलसीको पूजा गरेमा अनन्त फल प्राप्त हुने प्रसंग उल्लेख गरिएको छ ।

हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने एकादशीमा रोपिएको तुलसीको बिरुवा आजको दिनसम्म निकै हुर्किएको हुन्छ । अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई आजको दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ ।

यसका लागि तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाड्ने अनि रंगरोगन गरेर शृङ्गार गर्ने चलन रहेको छ । आजको दिन हिन्दू धर्मालम्बीहरुले रुद्री पूजा गर्ने चलन पनि रहेको छ ।

भगवान विष्णुका अनेक नाममध्ये एक नाम हो, नारायण । आजको दिन विष्णु भगवानको चर्चा गर्दा काठमाडौं उपत्यका र नारायणसँग सम्बन्धित केही विषयमा पनि चर्चा गरौँ ।

परापूर्वकालदेखि काठमाडौं सहरमा भगवान विष्णुको अनुकम्पा रहिरहोस् भनेर उपत्यकाका चारैतर्फ विष्णु भगवानको प्रतिमा पनि राखिएको छ । भगवान विष्णुको अनुग्रह काठमाडौंमा सधैं परोस् भन्नका लागि यसो गरिएको हो । काठमाडौंको पश्चिममा इचङ्गुनारायण, पूर्वमा चाँगुनारायण, उत्तरमा विशंखुनारायण अनि दक्षिणमा शेषनारायणले काठमाडौं उपत्यकालाई सधैं हेरिरहेका छन् भन्ने मानिन्छ ।

आजको दिन यी ठाउँहरुमा विशेष पूजा गर्ने चलन पनि रहेको छ । श्रद्धासहित भक्तजनहरु यी ठाउँमा पुग्ने गर्छन् । विहानैदेखि भगवान विष्णुको प्रतिमा भएका ठाउँमा पुगेका श्रद्धालुहरुले साँझ अबेरसम्म पूजापाठ गर्ने चलन रहेको छ । पहिले पहिले त यी चारै नारायण भएको ठाउँमा भक्तालुहरु हिँडेर एकै दिनमा पुग्ने गरेको चर्चा पनि सुनिन्छ ।

यसरी एकै दिनमा यी ठाउँहरुमा पुग्दा अन्त्यमा शेषनारायण भएको ठाउँमा भक्तालुहरु पुग्ने गरेका थिए । शेषको अर्थ अन्त्य भएकाले पनि यस्तो गरिएको हुनसक्ने विश्वास छ । केही पछि यी चारै नारायण पुग्न नसक्ने भक्तालुहरुका लागि पाटनको कृष्ण मन्दिरको छेउमा चार नारायणको प्रतिमा राखिएको छ । यी चार नारायणको प्रतिमामा फेरो लगाउँदा पनि चारै नारायणमा पुगेको जत्तिकै फल मिल्ने विश्वास गरिन्छ ।
आजको दिन नेपालभरका विभिन्न भगवान विष्णुका मन्दिर तथा तिर्थस्थलमा तिर्थाटन गर्ने भक्तजनहरुको व्यापक भीड लाग्ने गर्छ । हाम्राे पात्राेकाे सहयाेयमा ।

Comments

ताजा खबर