आजदेखि देशभरकाे मौसम बदली र वर्षाको सम्भावना

२०७८, ३१ आश्विन आईतवार १३:११

असोज ३१, पाल्पा । देशभरकाे मौसममा सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हिमपातको पनि सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश नं १, २ र वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।

देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

Comments

ताजा खबर