मंगलबार नेप्से सूचक २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा अल टाइम हाइ रेकर्ड

२०७८, २० श्रावण बुधबार ०६:५१
काठमाडौं : सेयर बजार मंगलबार फेरि अर्को अल टाइम हाइ रेकर्ड बनाएको छ । नेप्से सूचक क्लोजिङमा पहिलोपटक ३१ सय विन्दु माथि पुगेर बन्द भएको छ । यसअघि नेप्से इन्ट्रा डे कारोबारमा ३१ सय १३ विन्दु आसपाससम्म पुगे पनि बजार बन्द हुँदा ३१ सय विन्दुभन्दा तलै आएर बसेको थियो । यसआधारमा मंगलबार बजारले अल टाइम हाइ रेकर्ड बनाउान सफल भएको हो । यस दिन नेप्से सूचक २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा आइपुगेको छ ।

११ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ​बजारले क्रमशः नयाँ उचाईहरु बनाउँदै जाने अपेक्षा गरिएको छ । ३१ सय अंक आम लगानीकर्ताहरुका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दु पनि हो । मंगलबार विशेषगरी माइक्रोफाइनान्स समूहतिर लगानीकर्ताको आकर्षण देखिएको छ । माइक्रोफाइनान्समा क्रेज आउनुमा २ प्रमुख कारण मानिएको छ ।

पहिलो, चौथो त्रैमासमा माइक्रोफाइनान्स कम्पनीहरुको रिपोर्ट तुलनात्मकरुपमा निकै राम्रो आएको छ । माइक्रोफाइनान्सको नाफा, रिजर्भ, इपीएस लगायतका प्रमुख सूचकहरु उत्साहवद्र्धक देखिएका छन् । सोही कारण लगानीकर्ताको आकर्षण चुलिएको हो । यस्तै, यस समूहको सेयर नबढेको पनि लामै समय भइसकेको थियो । यस कारण लगानीकर्ता यतातिर आकर्षित भएको अनुमान गरिएको छ ।

यस्तै, यी समूहका कम्पनीहरुले अब लाभांश घोषणा गरेर साधारण सभा बोलाउन थाल्नेछन् । यसले पनि आम लगानीकर्तामा उत्साह बढेको हो । अरु केही समूहहरुमा पनि आकर्षण जारी छ । तर बजार वा कुनै पनि समूह निरन्तर बढ्ने वा घट्ने मात्र गर्दैन । यसतर्फ भने आम लगानीकर्ता सचेत हुन आवश्यक छ । बजार समग्रमा बुल रनमा रहेको छ । बैंक ब्याजदर सस्तो छ । सेयर धितो कर्जा सजिलै पाइने अवस्था छ । लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् ।

यी परिप्रेक्ष्यमा बजारले केही करेक्सनका बाबजुत पुनः नयाँ उचाईहरु तय गर्दै जाने विश्वास गरिएको छ । सेयर बजार तलमाथि गरिरहन्छ । यो बजारको स्वभाविक प्रक्रिया पनि हो । आम लगानीकर्ताले आफ्नो वित्तीय अवस्था, जोखिम बहन क्षमता, होल्ड गर्ने अवधि लगायतलाई ध्यान दिंदै अघि बढ्न जरुरी हुन्छ ।

सकेसम्म घटेका बेला किन्ने र बढ्दा बिक्री गर्ने रणनीति बनाउन सके लाभ लिन सजिलो हुन्छ । लगानी गरिएका कम्पनीको अवस्था, लाभांश क्षमता, व्यवसाय विस्तारको सम्भावना लगायतलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।

यस दिन २२३ कम्पनीको २ करोड ११ लाख २९ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । खरिदबिक्री रकममा अपि पावर अग्रस्थानमा रहेको छ । यसको ४६ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी पावर र फस्ट् माइक्रोफाइनान्स परेका छन् ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु