सांसदहरुकाे तलब भत्ता राष्ट्रिय वाणिज्य बैंक मार्फत

२०७८, १७ श्रावण आईतवार १४:२८

साउन, १७  काठमाडौं ।

आफूहरुको तलब भत्ता सरकारी बैंकबाट नै पाउनुपर्ने व्यवस्था गर्न सांसदहरुले संसद बैठकमा माग गरेपछी अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत तलब भत्ता बुझ्ने भएका छन् । संघीय संसद सचिवालयले यसअघि निजी बैंकबाट गर्दै आएको कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट गर्ने जनाएको छ । यसअघि सांसदहरुले निजी बैंकबाट तलब भत्ता बुझ्दै आएका थिए । सभामुख अग्नि सापकोटाले सरकारी बैंकबाटै कारोबार गर्न निर्देशन दिएपछी याे व्यवस्था भएकाे हाे ।

अर्थ मन्त्रालयले हालै सिंहदरबारभित्रका सबै कार्यालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट गर्न निर्देशन दिएपछि संघीय संसदको कारोबार पनि राष्ट्रिय वाणिज्य बैंकबाट गर्न लागिएको प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । सांसदहरुले कुरा उठाएपछि  संसद सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । तर अर्थ मन्त्रालयले आर्थिक बर्षको बीचमा खाता परिवर्तन गर्न कठिनाई हुने जानकारी दिएको थियो । संसद सचिवालयले आर्थिक वर्ष २०७७-७८ सकिएपछि २०७८ असार ३१ गते पुन: अर्थ मन्त्रालयमा खाता परिवर्तनका लागि अनुरोध गरेको थियो । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत सञ्चालन गर्न निर्देशन दिएको छ ।

Comments

ताजा खबर