पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

२०७८, २४ असार बिहीबार ११:५७

नवलपरासी । बाढीले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीस्थित थानचोक नजिकै रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

फाइल फोटो

लगातारको वर्षाले आएको बाढीले आज बिहान ह्युमपाइप बगाएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीपकुमार गिरीले जानकारी दिए। सडक अवरुद्ध हुँदा राजमार्गमा सवारी साधनको लाइन लागेको छ। कैयौं सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन्। डाइभर्सन निर्माण गरेर साना सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको डीएसपी गिरीले बताए। “डाइभर्सन निर्माणका लागि टोली खटिएको छ, पानी परिरहेकाले कठिनाइ भएको छ,” उनले भने।

त्यस्तै, गएराति चितवनको भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार, बिहानैदेखि दुई वटा एक्जाभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।यसअघि मंगलबार राति पनि पहिरो खसेको थियो। पहिरो पन्छाएपछि बुधबार साँझ ६ बजेदेखि मात्रै सडक सञ्चालनमा आएको थियो।

पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन। सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ। पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ।त्यस्तै, पहिरो खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। आज बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। राजमार्ग सञ्चालन गर्न बिहानैदेखि पहिरो पन्छाउन थालिएको प्रहरीले जनाएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु