युनियन लाइफ इन्सुरेन्सले आज बिहीबार (असार २४ गते) बाट ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुल्ला

२०७८, २४ असार बिहीबार ०४:५२

काठमाडौं : युनियन लाइफ इन्सुरेन्सले बिहीबार (असार २४ गते) बाट आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । यसमध्ये ५% (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डका लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा असार २८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा साउन ७ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ 
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले युनियन लाइफलाई ‘इक्राएनपी आइआर बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने जनाउँछ । इक्राले सन् २०२१ मे १७ मा उक्त रेटिङ दिएको हो । यो रेटिङ सन् २०२२ मे १६ सम्म बाहल रहनेछ ।
कति कित्ता सेयर भर्ने ? 
पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या २० लाख भन्दा बढी पुग्न थालेको छ । विगतमा परेको आवेदनलाई आधार मान्ने हो भने युनियन लाइफको सेयर पाउन पनि लगानीकर्ताले भाग्यमै भर पर्नुपर्ने अवस्था आएको छ । यस कम्पनीले सर्वसाधारणका लागि ५८ लाख ५ हजार कित्ता निष्कासन खुला गरेको हो । यसआधारमा, न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा ५ लाख ८० हजार ५०० जना लगानीकर्ताले मात्र यो आइपीओ हात पार्ने देखिन्छ ।

तसर्थ, युनियन लाइफको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पर्याप्त हुने देखिन्छ । यद्दपि, यस कम्पनीले भने न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

कम्पनी सम्बन्धी विवरण 
युनियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत स्थापित भई बिमा ऐन, २०४९, बिमा नियमावली २०४९ बमोजिम बिमा व्यवसायको कारोबार गर्ने इजाजत प्राप्त संस्था हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय सिद्घार्थनगर नगरपालिका वडा न. ८, रुपन्देहीमा रहेको छ । कारोबार गर्ने मुख्य स्थान काठमाडौ महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वर काठमाडांैमा रहेको छ ।
युनियन लाइफ विसं २०७४ असोज ४ गतेदेखि बिमा व्यवसाय गर्दै आइरहेको छ । हाल यस इन्सुरेन्सले विभिन्न शाखा तथा उपशाखा गरी २०४ वटा कार्यालयबाट बिमा सेवा प्रदान गरिरहेको छ । आवश्यकता अनुसार सम्बन्धित निकायको स्वीकृती लिई स्वदेश भित्र शाखा तथा उपशाखा कार्यालय स्थापना गरी कारोबार गर्न सक्नेछ ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

युनियन लाइफ इन्सुरेन्सको अधिकृत पुँजी २ अर्ब १५ कारोड रुपैयाँ र जारी पुँजी पनि २ अर्ब १५ करोड रुपैयाँ नै रहेको छ । जारी पुँजीमध्ये १ अर्ब ५० करोड ५० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागिएको हो । आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

आइपीओ बिक्रीपछि कम्पनीमा संस्थापक हिस्सा ७०% र सर्वसाधारण हिस्सा ३०% हुनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म युनियन लाइफले ८ करोड ९५ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७८–७९ मा १३ करोड ३९ लाख ४९ हजार रुपैयाँ र आव २०७९–८० मा १८ करोड ८३ लाख २० हजार रुपैयाँ नाफा कमाउने अनुमान छ ।कम्पनीले तत्काल पुँजी वृद्धि गर्ने कुनै पनि योजना बनाएको छैन । आव २०७९–८० सम्म आइपीओ बिक्रीपछि कायम हुने २ अर्ब १५ करोड रुपैयाँ पुँजी नै यथावत रहने प्रक्षेपण छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी ४ रुपैयाँ १७ पैसा पुग्ने प्रक्षेपण रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी ६ रुपैयाँ २३ पैसा र आव २०७९–८० मा ८ रुपैयाँ ७६ पैसा पुग्ने अनुमान रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा र आव २०७८–७९ मा १४२ रुपैयाँ ७५ पैसा पुग्ने अनुमान रहेको छ ।

Comments

ताजा खबर