बिपि कोइरालाको स्मृति दिवस, समृद्ध मुलुक निर्माणमा एकजुट हुन मुख्यमन्त्रीको आग्रह

२०७८, ६ श्रावण बुधबार १३:१८

पोखरा, ६ साउन । नेपाली कांग्रेसका संस्थापक जननायक बिपी कोइरालाको ३९ औ स्मृति दिवसको अवसरामा श्रद्धाञ्जली अर्पण गरिएको छ ।गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक बिज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
बिज्ञप्तिमा पोखरेलले “नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री , बहुआयामिक व्यक्तित्व नेपाली राजनीतिका केन्द्रबिन्दु प्रजातान्त्रिक विचार र आन्दोलनका नायक , नेपाली कांग्रेसका संस्थापक जननायक बिपी कोइरालाको ३९ औ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु” भन्नुभएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनार्थ कठोर संघर्ष गर्नुभएका विपी कोइरालाको योगदान नेपाली साहित्यका क्षेत्रमा समेत उत्तिकै उज्ज्वल छ । जहानीय राणा शासनबाट नेपाल र नेपालीलाई मुक्त गर्न , प्रजातान्त्रिक विचारधाराको विकास र विस्तारमा योगदान गर्न , मुलुकमा संसदीय प्रजातन्त्रलाई संस्थागत गर्न , नेपालको अन्तर्राष्ट्रिय गरिमा वृद्धि तथा सम्बन्ध विस्तार गर्न उहाँले गरेको योगदानको जति नै प्रशसा गरे पनि पुग्दैन । विपीका गतिशील र कालजयी विचारले गर्दा आज पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक आन्दोलन , राष्ट्रियता , विकास र स्थायित्वको पर्यायवाची शक्तिको रुपमा रहेको छ । यसको जगेर्ना हामी सबैको दायित्व हो । राष्ट्रियताको सवालमा उहाले लिनुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता मुलुकमा झन् बढ्दै गएको छ । लोकतन्त्र र संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरुका लागि बिपीका सिद्धान्त र आदर्श मुल मन्त्रका रुपमा स्थापित भएका छन् । भने प्रजातान्त्रिक समाजवादको विश्वव्यापी आन्दोलनमा युगनायक बिपी कोइरालाको योगदान आफैमा महत्वपूर्ण छ । मुलुक र नागरिकको हितका लागि उहाँले थाल्नु भएको दुरगामी सोचबाटै अहिले मुलुक अगाडि बढेको छ । सत्तामा रहँदा र नरहंदा उहाँले जहिल्यै पनि मुलुक र जनतालाई नै केन्द्रबिन्दुमा राख्नुभयो । राजनीति परिवर्तनको महसुस नागरिकले आर्थिक समृद्धिमार्फत गर्न पाउनुपर्छ भन्ने उहाँको धारणा थियो । नागरिक समृद्ध र सुखी नहुँदासम्म राष्ट्रियता र प्रजातन्त्र मजबुत नहुने हुदा राजनीतिको मुल ध्येय जनताको सेवा हो भन्नेमा उहाँको स्पष्ट दृष्टिकोण थियो । मुलुकले अहिले पनि उहाले देखाएको बाटोलाई नै अनुशरण गर्दै आएको छ । बिपी कोइरालाले अगाडि सार्नुभएका प्रजातान्त्रिक सिद्धान्त र विचारलाई अवलम्बन गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डोयाउन सके मात्र उहाप्रतिको सम्मान हुनेछ भन्ने मलाई लागेको छ । बिज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री पोखरेलले मुलुक र नागरिकका समुन्नतिका लागि बिपी कोइरालाकै सिद्धान्तलाई अंगीकार गरौ , उहाले देखाएको प्रजातान्त्रिक समाजवादको मार्ग अवलम्बन गरौं र समृद्ध मुलुक निर्माणको अभियानमा एकजुट हुन प्रजातन्त्रप्रति विश्वास गर्ने सम्पूर्ण नेपाली नागरिकमा आग्रह गर्नुभएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु