अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा पनि हरियाली ल्याउने लगानीकर्ताको आशा

२०७८, ३१ असार बिहीबार ०४:५२
काठमाडौं : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै अर्थमन्त्री सामु धेरै चुनौतिहरु पनि थुप्रिएका छन् । सबैभन्दा ठूलो चुनौति भनेको करोनाका कारण तहशनहश भएको अर्थतन्त्रलाई उकास्नु रहेको छ । यो बाहेक निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने अवस्था छ । यसैगरी, सेयर बजारका लगानीकर्ताको मन जित्नुपर्ने अवस्था पनि छ ।

नवनियुक्त अर्थमन्त्री शर्मालाई सेयर बजारका लगानीकर्ताले आशाको केन्द्रको रुपमा लिएका छन् । सेयर बजारका लगानीकर्ताको मनोबल उच्च बनाउन उनले भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । यसबाहेक अर्थमन्त्री समक्ष पुँजीगत खर्च बढाउनुपर्ने, निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने, आर्थिक वृद्धिको लक्ष्यलाई पूरा गर्नुपर्ने, विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने लगायतका प्रमुख जिम्मेवारी शर्मासामू रहेको छ ।

विगत वर्षहरुमा प्रजातान्त्रिक शक्ति नेतृत्वमा हुँदा पुँजी बजार सकारात्मक गतिमा अघि बढ्दै गएको इतिहास छ । विशेषगरी काँग्रेसको सिद्धान्त र नीति पनि प्रजातान्त्रिक तथा खुला अर्थतन्त्रमुखी हुने भएकाले पनि यो सरकारका नीति पनि पुँजी बजारमैत्री हुने विश्वास गर्न सकिन्छ । यसर्थ, राजनीतिक हिसाबले सेयर बजार सुरक्षित रहेको लगानीकर्ताले बताएका छन् ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले प्रजातान्त्रिक पद्धति अवलम्बन गर्ने काँग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनु पुँजी बजारका लागि राम्रो पक्ष भएको बताएका छन् । खुला नीति अंगीकार गर्ने पार्टीको नेतृत्वमा सरकार बनेकाले अर्थमन्त्री शर्माले पनि खुला अर्थनीतिको प्रयोग गर्ने आफूहरुलाई विश्वास रहेको उनले बताए । जसका कारण सेयर बजारमा सकारात्मक प्रभाव पर्ने उनको धारणा छ ।
राम्रो छवि भएको व्यक्ति अर्थमन्त्री बन्नु झन् सकारात्मक
हाल अर्थमन्त्रीको जिम्मेवारी पाएका शर्मा यसअघि पनि ३ पटक मन्त्री भइसकेका छन् । विगतमा उनले आफ्नो कार्यकुशलता देखाई सकेका छन् । उनी राम्रो छवि भएका नेताको रुपमा चिनिन्छन् । ऊर्जा मन्त्रालयमा पनि उनको भूमिका निकै राम्रो रह्यो । नेपाललाई उज्यालो बनाउन उनको प्रमुख योगदान रहेको मानिन्छ ।

उनले सपोर्ट नगरेको भए कुलमान घिसिङ अघि बढ्न सक्ने थिएनन् । शर्माले गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । अर्थ मन्त्रालय भने उनका लागि नयाँ हो । तथापि, अर्थमा पनि शर्माले आफ्नो कार्यकुशलता देखाउने सरोकारवालाहरुले अपेक्षा राखेका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्साल विभिन्न मन्त्रालय सम्हालिसकेका अनि स्वच्छ छवि बनाएका शर्मा अर्थमन्त्रीका रुपमा आउनु पुँजी बजारका लागि पनि सकारात्मक पक्ष भएको बताउँछन् । । उनले भने, ‘नवनियुक्त अर्थमन्त्रीले यसअघि पनि विभिन्न मन्त्रालय सम्हालिसकेका छन् । यसबीचमा उनको छवि स्वच्छ रहेको पाइएको छ । त्यस्तो व्यक्तिले अर्थ मन्त्रालय सम्हाल्नु भनेको एकदमै सकारात्मक पाटो हो ।’

यसले सेयर बजारमा पनि सकारात्मक उर्जा दिने उनको धारणा छ । आगामी मौद्रिक नीतिमा पनि अर्थमन्त्रीले केन्द्रीय बैंकलाई सकारात्मक सुझाव दिने उनको अपेक्षा रहेको छ । नेपाल इन्भेष्टर्स फोरमकी सचिव दुर्गा तिवारी पनि स्वच्छ छवि भएको व्यक्तित्व अर्थमन्त्रीका रुपमा आउनु सकारात्मक भएको बताउँछिन् ।

उनले भनिन्, ‘बौद्धिक तथा राम्रो छवि भएको व्यक्ति अर्थमन्त्री बनेर आउनु भएको छ । यो सेयर बजारका लागि निकै सकारात्मक पाटो हो ।’  शर्माले पहिलो पटक अर्थ मन्त्रालयको बागडोर सम्हालेका भए पनि शर्माले अध्ययन अनुसन्धान गरेर बुद्धिमतापूर्वक कुनै पनि निर्णय लिने उनले विश्वास गरेकी छिन् ।

यही परिपेक्ष्यमा सेयर बजारलाई पनि सकारात्मक गतिमा लैजान अर्थमन्त्री शर्माले पहल गर्ने उनको अपेक्षा रहेको छ । शर्माले यसअघि २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, विसं २०७३ मा उर्जामन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी पूरा गरेका थिए

Comments

ताजा खबर