ज्योति विकास बैंकको २० गतेदेखि निष्काशन ऋणपत्रमा आवेदन दिने म्याद थप

२०७८, २३ असार बुधबार १०:०६

ज्योति विकास बैंक लिमिटेड (JBBL) ले असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ९ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ।

‘ज्योति विकास बैंक बण्ड २०८७’ नामक सो ऋणपत्रमा अब साउन ३ गतेसम्म आवेदन दिन सकिने भएको छ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि निष्काशन गरिएका ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ।

१० वर्ष अवधिको सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्रा एनपीआईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा कर्जा जोखिम मध्यम भएको संकेत गर्दछ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु