तिहारमा पाल्पाली झिनियाँ रोटी लोकप्रिय बन्दै, ब्यापारीलाई भ्याइनभ्याई

२०७८, २० कार्तिक शनिबार ०८:३४

भबिन्द्र गौतम, पाल्पा २० कार्तिक ।
तिहारको आगमन संगै पाल्पामा झिनियाँ रोटीको व्यापार बढेको छ । गत बर्ष कोभिड सक्रमणको कारण ठप्प रहेको झिनिया रोटीको व्यापार यसबर्ष कोरोना सक्रमण दर कम भए संगै उपभोक्ताहरु बजारमा निस्किए पछी बजारमा झिनिया रोटीको व्यापार बढेको हो । तिहारमा रोटीको परिकार लाई शोभायमान बनाउन झिनिया रोटी मिसाउने प्रचलन बढेको छ ।  तिहारको आगमन संगै तानसेनका गल्ली गल्ली चोक चोकमा झिनिया रोटीले ढाकेको छ । तानसेन बजारमा झिनियाँ रोटी खरिद विक्रि गर्नेहरुको  भिडभाड बढेको छ ।

तानसेन बजारमा सवैजसो पसलमा विभिन्न  रङ्गी विरङ्गी भिनियाँ रोटी  राखिएका छन । रोटीको पर्वको रुपमा परिचित तिहारमा घरघरमा झिनियाँ रोटी नपाके रोटीका परिकार नै अपुरो हुन थालेको छ ।  तानसेन बजारको नेवारी समुदायमा  मात्र बढि  चलन चल्तीमा रहेको झिनियाँ रोटी आजकल अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । देखिदा पनी राम्रो, रङ्गी विरङ्गी, पकाउन पनि सजिलो, सबैले रुचाउने भएकोले तिहारमा झिनियाँ रोटी पकाउदै आएको तानसेनकी लक्ष्मी गिरीले बताईन ।

केही घर बस्तीमा मात्र सिमित रहेको झिनियाँ रोटी पछिल्लो समय देश भरी लोकप्रिय बन्दै गएको छ । तिहारको समयमा हरेक नेपालीको घर घरमा सप्तरंगि झिनिया रोटी भएन भने रोटीको परिकार नै अपुरो हुने गरेको छ । झिनिया रोटीको लागी  चामल पिसेर मिसिनो पिठो बनाईन्छ, पिठो लाई राम्ररी पकाएर आकर्षणको लागी बिभिन्न थरीका खाने रंग हरु मिसाएर हाते मेसिन बाट यो रोटी बनाउने गरिन्छ । पकाउन सजिलो खान मिठो भएकोले पनि झिनिया रोटीको लोकप्रियता बढ्दै गएको छ ।

अन्य समयमा भन्दा  तिहारको समयमा झिनिया रोटीको व्यापार बढेको छ । तानसेन बजारमा ७० रुपैया दर्जन देखी ५ सय रुपैया दर्जन सम्मका झिनिया रोटी विक्रि हुदै आएका छन । गत बर्ष कोभिडको सक्रमण दर उच्च रहेकोले झिनिया रोटीको व्यापार नभएको यस बर्ष व्यापार राम्रै रहेको झिनिया रोटी व्यापारी कल्पना श्रेष्ठले बताईन ।

झिनियाँ  रोटीकै कारण  तानसेनका करीब १ सय घरपरिवारले घरमै बसी बसी रोजगारी पाएका छन ।  तानसेनको टक्सार, मखनटोल, भगवतिटोल, लगायतका नेवारी बस्तीमा आम्दानी श्रोत नै झिनियाँ रोटी बनेको छ । भिनियाँ रोटी बनाएर एक परिवारले बार्षिक २ लाख  देखी ५ लाख रुपैया सम्म आम्दानी गर्दै आएका छन । तानसेन बनाएको झिनिया रोटी बुटवल, नारापणगढ, पोखरा, काठमाडौ, सम्म विक्रि हुदै आएको छ ।
यस्ता मौलिकता र आय आर्जन दिनेखालका स्थानीय उत्पादन लाई प्रोत्साहन गर्दै सरकारले पनी संरक्षण र ब्यापारमा पर्वर्धन गर्ने नीति निर्माण गर्न आवस्यक छ ।


ताजा खबर