सरकारविरुद्ध विपक्षी गठबन्धनका विद्यार्थी सडकमा, सडकबाटै प्रतिगमन सच्याउने दाबी

२०७८, १० असार बिहीबार १६:३०

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सडक आन्दोलन शुरू गरेको छ ।

फाइल फोटो

नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले नेता माधव नेपाल निकट अनेरास्ववियू लगायत विद्यार्थी संगठनले काठमाडौंको प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै त्यो नसच्चिएसम्म विद्यार्थी आन्दोलन नरोकिने बताए । विरोध प्रदर्शन पछिको कोण सभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन विदेशी शक्तिसँग सम्झौता गरिरहेको आरोप लगाए ।

ढुंगानाले विद्यार्थी आन्दोलनले केपी ओलीको सत्ता ढाल्ने दाबी गरे । ओलीको सत्ता नढल्दासम्म विद्यार्थी आन्दोलन जारी रहने उनले बताए ।अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले प्रधानमन्त्री ओलीले नेपाललाई सिक्किमीकरणको दिशामा लगेको आरोप लगाए । उनले सर्वोच्च अदालतले ८–१० दिनमा ओलीलाई बालकोट पठाउने दाबी गरे । तामाङले बेलौतीका पात र बेसार पानी खाएर कोरोना निको हुन्छ भन्ने सरकार प्रमुखको भनाइका कारण धेरैको ज्यान गएकाले त्यसको जिम्मेवारी ओलीले लिनुपर्ने बताए ।

माधव नेपाल पक्षीय अखिलका अध्यक्ष सुदेश पराजुलीले प्रधानमन्त्री ओली संवैधानिक र राजनीतिक रूपमा समाप्त हुने दिशामा गएको दाबी गरे । ओलीको सत्ता लम्बिनु विद्यार्थी आन्दोलनका लागि फाइदा हुने टिप्पणी गरे । पराजुलीले राष्ट्रपति प्रधानमन्त्रीको प्यादा बनेको आरोप लगाए । अखिल छैटौंका अध्यक्ष विमल पोखरेलले विद्यार्थी संगठन आन्दोलन सडकमा उत्रिएपछि विगतका तानाशाह ढलेको दाबी गरे । प्रदर्शनी मार्गको आरआर क्याम्पस अगाडि उभिएर विद्यार्थीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नाराबाजी गरेका थिए ।

Comments

ताजा खबर