गण्डकी प्रदेश: विपद कोषमा ५ करोड राख्ने निर्णय, राहतका लागि मुख्यमन्त्री मनाङमा

२०७८, ३ असार बिहीबार १५:०३

पोखरा, ३ असार । भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले रकम छुट्याएको छ । सरकारले प्रदेशस्तरीय विपद कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र राहत बितरणका लागि मुख्यमन्त्री सहितको टोली आज मनाङ गएको छ । राहत सामग्रीसहित मुख्यमन्त्री मनाङ जानु भएको हो । मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्ला स्थित सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपदमा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन समेत दिनुभयो । बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रवन्ध मिलाउन निर्देशन दिनु भएको छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरी कार्यान्यवनमा ल्याउन पनि उहाँले निर्देशन गर्नुभएको छ ।

प्रदेश सरकारले प्रदेशका ९ जिल्लाका लागि १० १० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २ र २ लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ । तिन दिन देखीको निरन्तर वर्षातका कारण गण्डकी प्रदेशको मनाङमा धेरै क्षति पुगेको छ ।

Comments

ताजा खबर