थपियो निषेधाज्ञा, उल्लंघन गरेमा कैद तथा जरिवाना

२०७८, १५ जेष्ठ शनिबार ०७:३०

भबिन्द्र गौतम, १५ जेठ, पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट गत बैशाख १७ गते मध्यराती देखि जारी भएको निषेधाज्ञा जेष्ठ २४ गते राती १२ बजेसम्म थपिएको छ । कोरोना संक्रमण कायमै रहेकाले निषेधाज्ञाको अकवधि पुन थप भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबारको बैठकले निषेधाज्ञा थप गरेको जनाएको छ ।

डिसीसीएमसी को शुक्रबारको बैठकले कोभिड–१९ सम्वन्धि अध्यादेश बमोजिम निषेधाज्ञा उल्लंघन गरेमा कैद र जरिवानासमेत गर्ने निर्णय गरेको छ । उल्लंघन गर्ने व्यक्तिलाई १ लाख र संस्था भए ५ लाख रुपैयाँ सम्म जरिवाना हुने छ । मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे १ सय रुपैयाँ जरिवाना हुने छ । विरामी ओसार पसार गर्ने अवस्थामा बाहेक अनुमती विना सवारी साधन चलाएमा २ पांग्रे सवारी भएर पटकै पिच्छे २ हजार र अन्य सवारी भए पटकै पिच्छे ५ हजार रुपैयाँ जरिवाना हुनेछ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेका अनुसार निषेधाज्ञा अवधिभर अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ । खाद्यान्न, तरकारी पसल विहान दिनको एक पटक विहान ७ बजेदेखि ९ बजेसम्म खुल्नेछन् । स्वास्थय तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने छन् । जसमा एम्वुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुका दाना, दूध, फलफूल, तरकारी, माछा, मासू, पानी,ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्च पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारीहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचय पत्र वाहक सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक पाल्पा जिल्लाभर सञ्चालन हुने यात्रुवाहक, सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा रोक लगाइएको छ । यस्तै खालका व्यपार व्यवसायहरु बन्द रहने छन्, यस्तै सार्वजनिक सवारी, सरकारी कार्यालय, बैैक तथा वित्तिय संस्था, सहाकारी संस्था तथा शैक्षिक संस्था बन्द रहने छन् ।

Comments

ताजा खबर