सेती अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर जडान, संक्रमितको उपचारमा सहज

२०७८, ५ जेष्ठ बुधबार १४:३६

 धनगढी, जेठ ५। सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर जडान गरेको छ ।

संघीय सरकारले खरिद गरेर पठाएका अस्पतालले २४ सहित ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरेर सेवा दिन थालेको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संघीय सरकारबाट प्राप्त भएका २४, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएका ६ र धनगढीका हार्डवयर व्यवसायी सुरेन्द्र राँठीले हस्तान्तरण गरेका ३ वटा अक्सिजन कन्सन्ट्रेटरबाट संक्रमितलाई अक्सिजन दिन थालिएको जानकारी दिए ।

अक्सिजन कन्सन्ट्रेटरले प्लान्टबाट सिलिन्डर भरेर संक्रमितको वेडसम्म पुगाउनुपर्ने झन्जट समेत हटेको बताउँदै श्रेष्ठले अहिले प्लान्टबाट सोझै पाइप जोडेर अक्सिजन दिन थालिएको बताए । जसले संक्रमितको उपचारमा सहज भएको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पतालमा अहिले एक सय २२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु मध्ये १६जनाको आईसीयू, एक सय एक जना अक्सिजन सपोट र ५ जनालाई आवश्यकताका आधारमा अक्सिजन दिएर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Comments

ताजा खबर