पाल्पामा थप ४ कोरोना संक्रमितको मृत्यु

२०७८, १ जेष्ठ शनिबार २०:४०

पाल्पा ,जेष्ठ १ । पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजमा थप ४ जना कोराना भाइरस संक्रमितको मृत्यु भएको छ । शुक्रबारदेखि कोरोना संक्रमितको उपचार सुरु गरेको पाल्पा अस्पतालमा तानसेन र रैनादेवी छहराका बिरामीको मृत्यु भएको हो ।

सांकेतिक तस्बिर फाइल फोटो

रैनादेवी छहरा गाउँपालिका–४, छहरा मेहलढापका २७ वर्षीय पुरुषको शुक्रबार राति, तानसेन नगरपालिका–५ का ८० वर्षीय पुरुष र रैनादेवी छहरा–४, छहराकै ७८ वर्षीय पुरुषको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । बिरामीका आफन्तका अनुसार रैनादेवी छहराका २७ वर्षीय पुरुषको शुक्रबार एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएको थियो । उनलाई उपचारका लागि मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा बेड खोजी गर्दागर्दै कतै पाएका थिएनन् । ‘केही समय बेडका लागि पर्खियौं,’ बिरामीका आफन्तले भने, ‘तर हामीले हरसम्भव प्रयास गर्दा पनि बेड पाउन सकिएन ।’

उनलाई अक्सिजन दिनुपर्ने अवस्थामा नपाएपछि रिब्दीकोटको खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि अन्यत्र लैजान सिफारिस भएपछि अन्यत्र कहींकतै बेड नपाएपछि पाल्पा अस्पताल ल्याएको केही समयमा मृत्यु भएको थियो ।

यसैबीच, लुम्बिनी मेडिकल कलेज प्रभासमा शनिबार स्याङ्जाका ७२ वर्षीय संक्रमितको मृत्यु भएको छ । गल्याङ नगरपालिका–७ का उनको गत वैशाख २१ गते पीसीआर पोजिटिभ आएको थियो ।

Comments

ताजा खबर