सिमानाकाको व्यवस्थापन फितलो

२०७८, ३० बैशाख बिहीबार १५:३५

रुपन्देहीको बेलहिया नाकाबाट अहिले दैनिक सरदर चार सय जना नेपालीहरु भित्रिन्छन् । रोजगारको शिलसिलामा भारत गएका लुम्विनी र गण्डकी प्रदेशका नागरिकहरु यस नाकाहुँदै घर फर्किने गरेका छन् । जिल्ला प्रशासन कार्यालय मातहत रहेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र भैरहवाका अनुसार दोस्रो लहरको कोरोना फैलिएका वेला २०७८ वैशाख २ देखि २४ गतेसम्म यस नाकाहुँदै ८ हजार ९ सय ८ जना नेपालीहरु घर फर्किएका छन् । त्यसमध्ये महिला १ हजार ५ सय २६ जना, पुरुष ७ हजार १ सय २९ जना, बालबच्चा २ सय ५३ जना छन् ।

सिमाबाट फर्किनेहरु मध्ये दैनिक सरदर १० देखि १५ जनामा कोरोना पाइएको छ । लुम्विनी प्रदेशमा बाँकेको जमुनाह, कपिलवस्तुको कृष्णनगर, मरेयादपुर, दाङको कोइलाबास र नवलपरासीको महेशपुर गरी भारत आवतजावत गर्ने ६ वटा नाका छन् । दोस्रो लहरको कोरोनामा ८४ हजार २१ जना नेपाली यी नाकाहुँदै घर फर्किएका छन् ।

सरकारले भारतबाट आएकाहरुलाई क्वारेन्टाइन र आइशोलेसनमा राख्ने व्यवस्था नाकामा मिलाएको छैन् । उनीहरु ज्वरो नपाएर सिधै घर पुग्छन् । यसले गर्दा गाउँमा कोरोनाको जोखिम बढाएको छ ।
भारतबाट आउनेहरुको सवै विवरण सिमानामा खटिएका प्रहरीले राख्ने गर्छन् । शंकास्पद देखिएका व्यक्तिहरुलाई कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएमा सम्वन्धित पालिकामा खवर हुन्छ । तर, पोजेटिभ देखिएका बाहेकका अन्य व्यक्तिहरुको विवरण सिमानामा भएपनि सम्वन्धित पालिकामा पुग्दैन । यसले गर्दा गाउँमा भारतबाट कति मानिस आए भन्ने एकिन तथ्यांक हुँदैन र उनीहरुलाई के कसो गर्ने भन्ने तयारी पनि भएको छैन् । भेरियन्ट सहितको दोस्रो लहरको कोरोना भारतबाटै भित्रिएर जोखिम दिनानुदिन बढ्दै गए पनि नेपालसँग जोडिएका नाकाको व्यवस्थापन अझै फितलो छ ।

संक्रमित व्यक्तिहरुलाई सार्वजनिक गाडीमा राखेर गाउँमा पठाउने गरिएको छ । यसले कोरोना संक्रमण झनै बढ्दै गएको छ । उनीहरु गाउँमा पुगेर होम आइसोलेसनमा बस्ने गरेका छन् भनिएको छ । भारतको दिल्ली र मुम्वईबाट आएका नेपालीहरुलाई विशेष निगरानी गरेर परिक्षण गर्ने गरिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी हवल्दार लोकनाथ खनालले बताए । ‘नेपालीहरु आउने क्रम जारी छ’,उनले भने, ‘शुरुमा धेरै नेपाली आए पनि अहिले कम हुँदै गएको छ ।’ परिक्षणपछिसंक्रमित व्यक्तिहरुलाई सम्वन्धित पालिका र घर परिवारलाई खवर गर्ने गरिएको उनले बताए ।

भारतबाट आएका नेपालीहरुलाई सिमानाकामै क्वारेन्टाइनमा राखेर पोजेटिभ देखिएका व्यक्तिहरुलाई निको भएपछि मात्र घर फर्काउने व्यवस्था नहुँदा कोरोना फैलने जोखिम गाउँमा पुगेको छ । यसले थप विकराल अवस्था ल्याउने देखिन्छ ।

झिमरुक गाउँपालिका ४ बांगमेरोठ प्यूठानमा भारतबाट आएका यूवाहरु सिँधै घर गएका छन् । उनीहरु होम आइशोलेसनमा नबस्ने र गाउँमा घुमफिर गर्ने गरेको स्थानीय धर्मेन्द्र विक्रम जिसीले बताए । ‘भारतबाट आउनेहरुको पिसिआर परिक्षण गरिएको छैन्’,उनले भने,‘उनीहरु सिधै घर आउँछन् र गाउँ डुल्छन् । गाउँपालिकाले यसको निगरानी गर्नुपर्छ ।’ उनले गाउँका केही शिक्षक लगायतलाई कोरोना पोजेटिभ देखिएको बताए ।

गाउँपालिकाका अधिकांश वडामा भारतबाट आएका व्यक्तिहरुबाट कोरोना संक्रमण दिनप्रतिदिन फैलिदै गएको माण्डवी गाउँपालिका प्यूठानका प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले बताए । ‘वडा नम्वर २ को ढिकावनमा सात जनाको परिक्षण गर्दा सवैको रिपोर्ट पोजेटिभ आयो । उनीहरु सवै भारतबाट आएका थिए ।’ उनीहरुसँग सम्पर्कमा रहेका व्यक्तिहरुको परिक्षण गर्नका लागि एन्टिजिन किटको अभाव भएको उनले बताए । एन्टिजिन किट खरिद गर्न खोज्दा समेत नपाइएको उनले गुनासो गरे सिमानामा आएका नेपालीहरुलाई क्वारेन्टाइनमा राख्ने र परिक्षणको व्यवस्था गर्न स्थानीय सरकारले नसक्ने सिद्धार्थनगर नगरपालिका भैरहवाका नगरप्रमुख हरीप्रसाद अधिकारीले बताए । उनले कम्तीमा पनि चार÷पाँच सय व्यक्तिहरु अट्न सक्ने आइशोलेसन सिमानामा स्थानीय सरकारको सम्वन्यमा बनाउन प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।

‘हाम्रै नगरपालिकाका जनताको उपचार गर्न हम्मेहम्मे भइरहेको छ’,उनले भने, ‘सिमा नाकामा आएका बाहिरी जिल्लाका जनतालाई कसरी सेवा गर्नु ?’ उनले प्राविधिक सहितको दक्ष जनशक्ति सरकारले पठाएमा सिमा नाकामा आफूहरुले आइशोलेसन सेन्टर खडा गर्ने बताए । प्रदेश सरकारसँग सिमानामा पोजेटिभ देखिएका व्यक्तिहरुलाई उपचार गर्ने र निको भएपछि घर फर्काउने वातावरण मिलाउन पटक पटक आग्रह गरेपनि सुनुवाई नभएको गुनासो उनले गरे ।

कोरोना संक्रमितहरुलाई केही समय उपमहानगरपालिकाको होल्डिङ सेन्टरमा राखेर यूनिसेफको गाडीमा सम्वन्धित जिल्लामा पठाउने व्यवस्था मिलाइएको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.धवल शम्शेर राणाले बताए । उनका अनुसार, संक्रमितहरुलाई नाकाकै आइशोलेसनमा राख्ने व्यवस्था मिलाउनका लागि सुरक्षाकर्मीहरुले व्यवस्थापन गर्न लागेका छन् ।

कृष्णनगर नाकाहुँदै दैनिक ३ सय ५० जना नेपालीहरु आउने गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका इन्चार्ज प्रहरी निरिक्षक सुकदेव पौडेलले बताए । ‘ज्वरो परिक्षण गराएर सम्वन्धित जिल्लाका यातायात व्यवसायीहरुसँग सम्वन्य गरी घर पठाउने गर्छौ’,उनले भने, ‘पोजेटिभ देखिएकालाई एम्बुलेन्सबाट घर पठाउने गरिएको छ ।’

सिमानामा हेल्प डेक्स भवन निर्माण गर्न संघीय सरकारले ५० लाख रुपैयाँ पठाएको थियो । तर जग्गा नपाइएकाले यो प्रक्रिया अघि बढ्न नसकेको कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्कीले बताए । ‘यो नाकामा देशभरका नागरिकहरु ओहोरदोहोर गर्छन्’,उनले भने, ‘सवैलाई राख्नका लागि नगरपालिकाको स्रोतले मात्र थेग्दैन् । संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्छ ।’ उनले सिमानाका पालिकालाई सरकारले अन्य ठाउँका पालिका सरह नहेरिदिन उनले आग्रह गरे । सिमानामा क्वारेन्टाइन र आइशोलेसन सेन्टर निर्माणका लागि प्रदेश र संघ सरकारसँग माग गरिएको उनले सुनाए ।

भारतीय सिमा नाकासँग जोडिएका पालिकालाई क्वारेन्टाइन र आइशोलेसन केन्द्र तयार पार्नका लागि संघीय सरकारले बजेट पठाएको स्वास्थ्य निर्देशनालय बुटवलका प्रवक्ता बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले बताए । ‘सिमासँग जोडिएका स्थानीय तहले तयारी गर्नुपर्ने हो’,उनले भने, ‘आवश्यक जनशक्ति र भौतिक संरचना बनाउन बजेट संघबाटै गएको छ ।’ उनले तीन तहको सरकार हुँदा जिम्मेवारी कसको भन्ने अन्यौल भएकाले पनि काम गर्न समस्या भएको हुनसक्ने बताए ।

उनले प्रदेशमा एन्टिजिन किटको अभाव भएको समेत बताए । एन्टिजिन किट केन्द्रले पठाउने र नआउँदासम्म सिमा नाकामा आएकाहरुको परिक्षण गर्न नसकिने जानकारी गराए । प्रदेश सरकारले छुट्टै सिमानामा क्वारेन्टाइन र आइशोलेसन सेन्टर बनाउने कुनै योजना नरहेको समेत उनले बताए । प्रदेशको प्रभावकारी भूमिका नदेखिँदा र स्थानीय सरकारले प्रदेश र संघको मुख ताक्दा कोरोना जोखिम झन् बढेको छ ।

सिमा नाकामा कम्तीमा ५ सय देखि १ हजार जना व्यक्ति अट्न सक्ने क्षमताको क्वारेन्टाइन र आइशोलेसन सेन्टर निर्माण गर्न नागरिकहरुले माग गरे पनि यसतर्फ सरकारले चासो देखाएको छैन् । सिमा नाका खुकुलो हुँदा गाउँमा असर परेको छ । प्रदेशका मुख्य नाकामा आइपुगेका नागरिकलाई प्रदेश र संघीय सरकारले तत्कालै क्वारेन्टाइनमा राखेर मात्र घर पठाउन पहल गर्न नागरिकले सुझाएका छन् । पहिलो चरणको कोरोना पैmलिएका वेलामा पनि नागरिकहरु सामान्य परिक्षण गरेर घर जाने गरेका थिए । त्यसबेला पालिकाहरुले उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर परिक्षणपछि मात्र घर पठाउने गरेका थिए । तर, यसपाली उनीहरु सिँधै घर जान्छन् । कोरोना परिक्षण गर्दैनन् । पालिकाले पनि उनीहरुलाई क्वारेन्टाइनमा राख्न चासो देखाएका छैनन् । स्रोत ; नितिपात्रो ।

Comments

ताजा खबर