नवनियुक्त मुख्यमन्त्रीद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

२०७८, २९ बैशाख बुधबार १९:२४

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त हुनुभएको छ । नवनियुक्त मुख्यमन्त्री गुरुङले पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रदेश प्रमुखको निवासमा आयोजित सपथ ग्रहण समारोहमा गुरुङले सपथ लिनुभएको हो । सपथ ग्रहण समारोहमा सिमित व्यक्तिलाई बोलाइएको थियो । सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सृजना शर्मा, एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारी, उच्च अदालतका प्रमुख न्यायाधिश सपथ ग्रहण समारोहमा उपस्थिती रहेको थियो । आज केही तयारी नगरेकाले आफुले एक्लै सपथ लिएको बताउँदै मुख्यमन्त्री गुरुङले भोलि पर्सी मन्त्रीपरिषद बिस्तार गर्ने जानकारी दिनुभयो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज नियुक्त गर्नुभएको थियो । नेपालको संविधानको धारा १६८ उपधारा ३ अनुसार ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री गुरुङले बैशाख २६ गते आफ्नो पदबाट राजिनामा दिनुभएको थियो । मुख्यमन्त्रीको राजिनामापछि प्रदेश प्रमुख पौडेलले आह्वान गरेको तीन दिनभित्र नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार नयाँ सरकार बन्न नसकेपछि मुख्यमन्त्री गुरुङलाई संविधानको धारा १६८ उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बन्नु भएको हो। तर, ३० दिनभित्र उहाँले विश्वासको मत लिनुपर्ने हुन्छ ।

Comments

ताजा खबर