३० अंकसम्म उचालिएको सेयर बजार अन्ततः १२ अंकले घटेर बन्द, महिला लघुवित्तमा ३२ दिनदेखि सर्किट कायम

२०७८, २१ बैशाख मंगलवार ०२:१२

काठमाडौं । पछिल्लो एक सातामा करिब १६० अंकले माथि उक्लिएको सेयर बजारमा  सोमबार सामान्य करेक्शन आएको छ ।

वैशाख १४ गतेयता छ कारोबार दिनमा आजसमेत गरेर दुई दिन सेयर बजारमा सामान्य गिरावट भएको हो । गत १५ गते करिब १४ अंकले झरेको बजार त्यसयता लगातार बढेको थियो ।  सोमबार भने बजार सूचक नेप्से १२.३६ अंकले घटेको छ ।

वैशाख २ गते अहिलेसम्मकै उच्च विन्दु २७३५.४० को उचाइ छोएको थियो । त्यसयताको सात कारोबार दिनमा बजारमा २३० अंकको करेक्शन आएको थियो । त्यसमा पुनः १६० अंकले सुधार हुँदै २६६५.११ अंकसम्म उठेको बजारमा आज सामान्य करेक्शन आएको हो । आइतबार २६६५ विन्दुमा पुगेर वन्द भएको सेयर बजार सूचक सोमबार करिब ३० अंकसम्मले बढ्दै  उच्चतम २६९४ विन्दुसम्म पुगेको थियो । सोपछि तल ओर्लिएको सूचकमा सामान्य उतारचढाव हुँदै अन्ततः २६५२.७५ विन्दुमा पुगेर अडिएको छ ।

सेयर बजार परिसूचक नेप्से १२ अंकभन्दा थोरै बढीले घटेको भएपनि सेयर कारोबार रकम तथा संख्या र किनबेच भएका धितोपत्र एकाइ सबै आज आइतबारको भन्दा बढी छ । यसले बजार अझै पनि धेरै तल नझर्ने संकेत दिने विश्लेषण गरिएको छ ।

आइतबार सात अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आझ करिब सात करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । यसक्रममा झन्डै साढे ८८ हजारवटा कारोबारबाट एक करोड ५९ लाख आठ हजार पाँच सय कित्ता सेयर खरिद बिक्री भयो । किनबेच भएकामध्ये ३२ लाख म्युचुअल फन्डका एकाइ हुन् भने एक करोड २७ लाख विभिन्न कम्पनीका सेयरहरु रहेका छन् । कारोबार भएको सेयर संख्या पनि आइतबारको तुलनामा आज झन्डै सात लाख एकाइले बढेको छ । आइतबार एक करोड २० लाख कित्ता सेयर किनबेच भएको थियो ।

कुल २१६ कम्पनीका सेयर तथा म्युचुअल फन्ड एकाइको कारोबार भएकोमा १८२ वटा कम्पनीको सेयर रहेको छ । जसमध्ये आज ६३ वटा कम्पनीको सेयरका लगानीकर्ताले कमाए भने ११३ कम्पनीका लगानीकर्ताको सेयर नेटवर्थ घट्यो । ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

महिला लघुवित्तको सेयर मूल्य आज ३२औं कारोबार दिनमा पनि लगातार बढेर सर्किट ब्रेकर लागेको छ । ४३८ रुपैयाँमा पहिलो कारोबार भएको यस कम्पनीको मूल्य अहिले ३७८० रुपैयाँ पुगिसकेको छ । यसअघि चन्द्रागिरीको मूल्य लगातार ३३ दिनसम्म बढेर सर्किट ब्रेकर लागेको थियो । भोलि पनि महिला लघुवित्तको कारोबारमा सकारात्मक सर्किट लागे यसले चन्द्रागिरीको रेकर्ड बराबर गर्नेछ ।

चार दिनअघि दोस्रो बजारमा सूचीकृत भएको सिंगटी हाइड्रोको सेयर मूल्य पनि आजसमेत लगातार सर्किट लाग्दै प्रतिकित्ता मूल्य ४३८ रुपैयाँ पुगेको छ । यसबाहेक विशालबजार कम्पनी, नेशनल माइक्रोफाइनान्स र न्गादी ग्रुप पावरको कारोबारमा पनि सकारात्मक सर्किट लाग्यो ।

आज सर्वाधिक गुमाउने तीन कम्पनीमा सबै जलविद्युत क्षेत्रकै रहेका छन् । हिमालयन ऊर्जा, हिमालयन पावर र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः ३.५८%, ३.५३% र ३.३४% ले घटेको हो ।

अपि पावरको सेयर सर्वाधिक रकमको किनबेच भएको छ । यसको ३ करोड ९४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो । यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनी (एनआरआईसी), ग्रामिण विकास लघुवित्त, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल), नेपाल क्रेडिट एन्ड कमर्श बैंक लगायत छन् ।

कारोबार एकाइका हिसाबले सनराइज फर्स्ट म्युचुअल फन्ड (११,९५,१०१ एकाइ) पछि अपि पावर (१०,६०,२५२ कित्ता), नेपाल क्रेडिट एन्ड कमर्श बैंक (६,३०,०४५ कित्ता) को सर्वाधिक धितोपत्र किनबेच भएको छ । कारोबार संख्याका दृष्टिले सिंगटी हाइड्रो, अपि पावर, निफ्रा लगायत अगाडि रहे ।

सूचक घटेको आजको सेयर बजारमा माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट बाहेक अन्य सबै समूहको उपसूचक रातो भएर बजार बन्द भयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु