सीइडीबी हाइड्रोपावरको आइपीओ आज शुक्रबारबाट खुला , कति भर्दा उचित ?

२०७८, १७ बैशाख शुक्रबार ०४:३७
काठमाडौं : सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शुक्रबार (वैशाख १७ गते) बाट कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले यसमध्ये २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सकिनेछ ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीइडीबीको यस आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । सीइडीबीको यस आइपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म भर्न खुला रहनेछ ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । आइपीओ बिक्रीपछि भने चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

रेटिङ :
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सीइडीबी हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी (आइएस)’ इस्यूअर रेटिङ प्रदान गरेको छ । जसले निष्काशनकर्ता कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने जनाउँछ । केयर रेटिङले २०७७ असोज २९ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ २०७८ असोज २८ गतेसम्म कायम रहनेछ ।
लगानीकर्ताले कति कित्ताका लागि दिने आवेदन ? 
अधिकांश आइपीओहरु गोलाप्रथामार्फत बाँडफाँट हुँदै आएका छन् । लगानीकर्ताले सेयर पाउन भाग्यमै भर पर्नुपरेको अवस्था छ । तसर्थ, पछिल्ला आइपीओहरुमा परेको आवेदनलाई आधार मान्ने हो भने सीइडीबीको आइपीओ पनि गोलाप्रथाबाटै बाँडफाँट हुने देखिन्छ । सीइडीबी हाइड्रोपावरले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै अर्थात २५ लाख १८ हजार २३० कित्तासम्म नै आवेदन दिन पाउने व्यवस्था गरेको छ । तर पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या अत्याधिक रहेको छ ।
हाल आइपीओमा औसतमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिँदै आएका छन् । यसकारण लगानीकर्ताले यस आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पुग्ने देखिन्छ । तथापि, यसमा कति आवेदकले कति कित्ताका लागि आवेदन दिनेछन् भनेर अहिले नै अनुमान गर्नु उचित हुँदैन ।
सीइडीबीले कुल आइपीओमध्ये २३ लाख ४१ हजार ९५४ कित्ता मात्र सर्वसाधारणलाई खुला भएको छ । यसलाई न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा २ लाख ३४ हजार १९५ जना लगानीकर्ताले आइपीओ हात पार्ने देखिन्छ । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहने ४ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिने ४ जनालाई १–१ कित्ताका दरले थप हुनेछ । यसर्थ, ४ जना लगानीकर्ताले भने ११ कित्ता सेयर पाउनेछन् ।
कम्पनी र आयोजना सम्बन्धी विवरण :
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कम्पनी ऐन, २०६३ बमोजिम २०६६ साल मंसिर १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर कारोबार सञ्चालन गर्दै आएको छ । साविकको सीइडीबी हाइड्रो फन्डको नाम परिवर्तन गरी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी राखिएको हो । यसको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित त्रिपुरेश्वरमा रहेको छ ।
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका ४ वटा सहायक कम्पनीहरु पनि रहेका छन् । जसमा गण्डकी इनर्जी लिमिटेड, कसुवा खोला हाइड्रोपावर लिमिटेड, मोरङग इनर्जी लिमिटेड र खारे इन्भेष्टमेन्ट लिमिटेड रहेका छन् । यी सबै कम्पनीमा सीइडीबी हाइड्रोपावर कम्पनीको शत् प्रतिशत स्वामित्व रहेको छ । गण्डकीले ४.७३ मेगावाटको माथिल्लो रुकुमगाड जलविद्युत आयोजना अध्ययन तथा विकास गर्दैछ ।

यसका साथै यस कम्पनीले लमजुङ्ग विद्युत विकास कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडमा लगानी गरेको छ । यस्तै, कसुवा खोला हाइड्रोपावरले ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना अध्ययन तथा विकास गर्दैछ ।

साथै, ५.२५ मेगावाटको तल्लो रुकुमगाड जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरी अन्य कार्यहरु अगाडि बढाइरहेको सीइडीबीले जनाएको छ । मोरङग इनर्जीले भने ११ मेगावाट क्षमताको जलविद्युत आयोजना विकास गरिरहेको युनिभर्सल पावर कम्पनीमा लगानी गरेको छ । यता, खारे इन्भेष्टमेन्टले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनीमा लगानी गरेको छ ।

उत्पादन भइसकेका आयोजनाहरु :
उत्पादन क्षमता ४.४ मेगावाट रहेको राधी साना जलविद्युत आयोजनाको सबै विद्युत नेपाल विद्युत प्राधिकरणलाई ग्रीडमार्फत आपूर्ति भइरहेको ।
–उत्पादन क्षमता १८३ किलोवाट रहेको साङ्गे जलविद्युत आयोजनाको सबै विद्युत नेपाल विद्युत प्राधिकरणलाई ग्रीडमार्फत आपूर्ति भइरहेको ।
निर्माणाधीन आयोजनाहरु :
उत्पादन क्षमता ११ मेगावाट रहेको तल्लो खारे जलविद्युत आयोजनाको सबै विद्युत नेपाल विद्युत प्राधिकरणलाई ग्रीडमार्फत आपूर्ति गरिने ।
–उत्पादन क्षमता १२ मेगावाट रहेको दोर्दी खोला जलविद्युत आयोजनाको सबै विद्युत नेपाल विद्युत प्राधिकरणलाई ग्रीडमार्फतआपूर्ति गरिने ।
–उत्पादन क्षमता ५ मेगावाट रहेको रुकुमगाड जलविद्युत आयोजनाको सबै विद्युत नेपाल विद्युत प्राधिकरणलाई ग्रीडमार्फतआपूर्ति गरिने ।
पुँजी संरचना र वित्तीय प्रक्षेपण :
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ छ । यसमध्ये संस्थापक सेयरधनीबाट ५८ करोड ७५ लाख ८७ हजार रुपैयाँ चुक्ता भइसकेको छ । सर्वसाधारणलाई जारी हुन लागेको आइपीओ सबै बिक्री भएमा सीइडीबीको चुक्ता पुँजी जारी पुँजीको बराबर अर्थात ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ७०%, सर्वसाधारणको ३०% कायम हुनेछ । सीइडीबीले निरन्तर पुँजी वृद्धि गर्दै लैजाने योजना बनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म आइपीओ बिक्रीपछि कायम हुने पुँजी नै यथावत रहेनछ । तर आव २०७८–७९ मा ८८ करोड १३ लाख र आव २०७९–८० मा ९२ करोड ५४ लाख रुपैयाँ चुक्ता पुँजी पुग्ने प्रक्षेपण छ ।

यसर्थ, पुँजी वृद्धि गर्न कम्पनीले बोनस वा हकप्रद सेयर जारी गर्ने देखिन्छ । यस्तै, चालु आर्थिक वर्षमा ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण रहेको छ । आव २०७८–७९ मा ९ करोड ५२ लाख रुपैयाँ र आव २०७९–८० मा १० करोड ६२ लाख रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण छ ।

यस्तै, चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ९१ पैसा पुग्नेछ । आर्थिक वर्ष २०७८–७९ सम्ममा प्रतिसेयर आम्दानी १० रुपैयाँ ८१ पैसा पुग्नेछ । साथै, प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ हुनेछ । आव २०७९–८० मा भने प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ७७ पैसा पुग्नेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु