२५८५.२८ विन्दुमा अड्किएर विस्तारै सम्हालिने प्रयास गर्दै नेप्से

२०७८, १५ बैशाख बुधबार १८:०५
काठमाडौं : सेयर बजार बुधबार केही सुस्त देखिएको छ । केही दिनयताको तीब्र उतारचढावपछि बुधबार नेप्से विस्तारै सम्हालिने प्रयास गर्दैछ । तथापि, यस दिन बजार सुस्त देखिएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि घटेको छ ।

अघिल्ला दिनहरुमा भारी अंकले घटेको नेप्से मंगलबार भने करिब ९२ अंकले बढेको थियो । यसरी तीब्र उतारचढावपछि बजार अव विस्तारै सम्हालिने प्रयास गरेको अनुमान लगाउन सकिन्छ । बिहीबारदेखि जारी हुने लक डाउनका कारण धेरै व्यक्ति उपत्यकाबाहिर जाँदैछन् ।

यसमा कतिपय लगानीकर्ताहरु पनि परेका हुन सक्छन् । सोही कारण पनि बुधबार सेयर बजार सुस्त हुनमा केही सहयोग पुगेको अनुमान छ । साथै, बजारमा देखिएको उच्च उतारचढावका कारण अझै पनि कतिपय लगानीकर्ता ‘पर्ख र हेर’ कै रणनीतिमा बसेकाले पनि बुधबार नेप्से सुस्त बनेको विश्लेषकहरुको भनाई छ । ठूला उतारचढावपछि केही दिन नेप्से सुस्त हुने गरेको विगतको पनि उदाहरण छ ।
यसरी उतारचढावपछि बजार केही दिन साइडवेजमा पनि जान सक्छ । त्यसपछि फेरि नयाँ गति लिन सक्ने कतिपयको अनुमान छ । तथापि, बजारको गति र प्रवृत्तिका बारेमा कसैले ठोकुवा गर्न सक्दैन । विभिन्न आधारहरुमा अनुमान लगाउने मात्र हो । यतिबेला लगानीकर्ताहरु उत्साहित भएर बढी भाउ पनि नतिर्ने अनि आत्तिएर निकै सस्तो मूल्यमा सेयर बिक्री गर्ने दुवै प्रवृत्ति देखिएको छैन । यसले पनि बजार सुस्त बनाएको फ्रन्टलाइनमा बसेर कारोबार गर्ने ब्रोकरहरुको भनाई छ ।

बजारमा उतारचढावहरु आइरहने भएकाले लगानीकर्ताले ठोस समय योजनासहित सकेसम्म लामो समय होल्ड गर्ने हिसाबले सेयर खरिद गर्दा दैनिक हुने उतारचढावबाट तनाव लिनु नपर्ने अुनभवीहरु सुझाव दिने गर्छन् । बलियो वित्तीय अवस्था भएका कम्पनीहरु छानेर लगानी गर्न पनि उनीहरुले सुझाव दिने गरेका छन् । तेस्रो त्रैमासमा औसतमा रिपोर्टहरु राम्रो आएको छ । सेयर बजारको सिजन पनि लागेको छ । बैंकिङ प्रणालीमा सहज उपलब्ध हुने तरलता र सस्तो ब्याजदरले पनि बजारलाई दीर्घकालमा माथितिरै लैजाने अपेक्षा गर्न सकिन्छ ।
नेप्से सूचक १३.७९ अंकले घटेर २५८५.२८ विन्दुमा अडिएको छ । ३ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१५ कम्पनीको ८९ लाख ६५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ३ समूहको सूचक वृद्धि भएको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । खरिदबिक्री रकममा २८ करोड रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा रहेको छ ।
Comments

ताजा खबर