नवलपरासी ,परासी ।  नवलपरासीको रामग्राम–४ जीतपुर नजिकै सय बढी गिद्ध मृत अवस्थामा फेला परेका छन् ।

फाइल फोटो

जितपुरमा रहेको एक पोखरी नजिकै फेला परेका मृत गिद्धहरुका बारेमा अनुन्धान गर्न पश्चिम नवलपरासी जिल्ला पशुपन्छि विज्ञ कार्यालयका प्रमुख भरत काफ्लेले घटना बारे अनुन्धान गर्न विज्ञहरुसहित घटना स्थल जान लागिएको बताए ।पोखरीको छेउमा नै गिद्धहरु मरेको हुँदा कतैबाट विषदियुक्त सिनो खाएर आएन उनिहरु पानी पिएपछि मरेको हुन सक्ने रामग्राम संरक्षण समितिका अध्यक्ष तथा स्थानीय सम्भु उपाध्यायले बताए । सिनो खाएर आएका उनीहरु विषादिका कारण अत्याधिक तिर्खाएको र पानी पिउना साथ उनिहरुको शरिरमा विशेषको प्रभाव थप बढेपछि एकसाथ मृत्युभएको उनले बताए ।

डिभिजन वन कार्यालय र तथा पशुपन्छि विज्ञसहित घटना स्थलमा पुग्ने टोलीले गिद्धहरु मर्नुको कारण तथा उनिहरुको प्रजाति लगायतका विषयमा अनुसन्धान गर्ने छ । पछिल्लो समय प्रकृतिको कुचिकार मानिने पंक्षी गिद्धको संख्या घट्दै गएको छ । आहारा प्रजातीको कमी, वासस्थान विनासल, पशुमा लगाइने डाईक्लोफेनेक नामक औषधिको प्रयोगका कारण गिद्धहरू मर्ने गरेको उनिहरु बताउँछन् ।

नेपालमा ९ प्रजातीका गिद्धहरु पाइने नेपाल गिद्ध संरक्षण अभियानका सदस्य सचिव रामबहादुर शाहीले बताए । उनका अनुसार हाडफोर, सेतोगिद्ध, डंगर, सानोखैरो गिद्ध, हिमाली गिद्ध, खैरोगिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध नेपालमा पाइन्छन् । डंगरगिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध र लामो ठूँडेगिद्ध अति संकटापन्न अवस्थामा रहेको उनले बताए । त्यस्तै सेतो गिद्ध संकटापन्न अवस्थामा रहेको र हिमाली गिद्ध पनि संकटापन्न उन्मुख रहेको छ ।

डाइक्लोफेनेक नामक औषधिको प्रयोगबाट मृत्यु भएका पशुहरु गिद्धले खाएपछि मृर्गौला फुटेर मर्ने लगायत प्रजनन् क्षमता ह्रास हुने हुँदा गिद्ध लोप भएको वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । नेपालमा प्रशस्त पाइने गिद्ध सन् २००६ मा १ हजार २ सय जोडी मात्र भेटिएको थियोे । अचेल नेपालका करिव ६४ वटा जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा भएपछि औषधी विक्री वितरण र प्रयोग गरेको पाइए ३ वर्ष कैद वा २५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।