हामीसंग सरकार छ भन्ने अनुभुती जनतालाई दिलाउनुपर्छ : मन्त्री बराल

२०७८, ३ बैशाख शुक्रबार १६:५१

पाल्पा, ३ वैशाख
तिनै तहका सरकारले जनताको मन छुनेगरी सामाजिक विकासमा बजेट र कार्यक्रम बनाउन आवश्यक रहेको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले बताउनु भयो । हामीसंग सरकार छ भन्ने अनुभुती जनतालाई दिलाउने गरी सरकारहरुले काम गर्नुपर्ने बरालको जोड थियो । तिन जिल्लाका स्थानीय तहका कर्मचारीहरुको क्षमता विकास तालिमको उद्घाटन समारोहमा बोल्दै मन्त्री बरालले जनतासंग जोडिने स्थानीय सरकार भएकाले अझै जिम्मेवारी बोध गरी लक्षित समुदायको र वर्गको उत्थानमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।


तालिममा पाल्पा, गुल्मी र अर्घाखँचीका २८ वटा स्थानीय तहको सामाजिक विकास शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको छ । सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थले सरकारहरु बजेट निर्माणको पूर्वसन्धामा रहेकाले सामाजिक विकासलाई प्राथमिकतामा राख्न सुझाव दिनु भएको छ । तालिममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, लैङ्गिक हिंसा निवारण, घरेलु हिंसा निवारण, बालअधिकार, बालविवाह न्यूनिकरण, सामाजिक सुरक्षा, लैङ्गिक संवेदनशील योजना तर्जुमा, सामाजिक क्षेत्रमा प्रदेश सरकारको भूमिका, संघ, प्रदेश र स्थानीय सरकार बीच अन्तरसम्बन्ध लगायतका बिषयमा सहजिकरण गरिने मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख, प्रमुख महिला विकास अधिकृत शारदा बस्यालले बताउनु भयो ।

स्थानीय तहका कर्मचारीहरुलाई सामाजिक विकास क्षेत्रका कार्य गर्ने समक्ष बनाउने, स्थानीय, प्रदेश र संघ सरकारका कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्ने र बजेट तथा कार्यक्रमहरुमा सामाजिक विकासलाई प्राथमिकतामा पार्न घच्घच्याउने तालिमको उद्देश्य रहेको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मणप्रसाद ज्ञवालीले बताउनु भयो । तिन दिनसम्म तालिममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रवि लाल पन्थ, यू.एन.एफ.पी का रेखा श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका उपसचिव तारा ज्ञवाली, लेखा अधिकृत मिन बहादुर घर्ती र शाखा अधिकृत सञ्जय ज्ञवाली लगायतले सहजिकरण गर्ने छन् ।

Comments

ताजा खबर