हामी अझै एकताको झण्डा उठाउँछौँ : अध्यक्ष दाहाल

२०७७, २८ चैत्र शनिबार २०:२४

काठमाडौँ, २८ चैत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अस्थिरताको भुमरीमा हाल्न अनैतिक तरिकाले झण्डै दुईतिहाइ जनमत प्राप्त पार्टी खण्डित गरिएको बताउनुभएको छ ।

फाइल फोटो

पार्टीको कर्णाली प्रदेश सम्पर्क समितिको आज यहाँ आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले मुलुक र जनताविरोधी शक्तिले नेकपालाई खण्डित पारे पनि आफूहरुले एकताको झण्डा उठाइरहनुपर्ने उल्लेख गर्नुभयो । पार्टी विभाजनको जिम्मेवार आफूहरु नभएको बताउँदै उहाँले भन्नुभयो, “समाजवाद निर्माण गर्नका निम्ति विशाल कम्युनिष्ट समर्थक जनतालाई एकताबद्ध गर्न आवश्यक छ । अप्राकृतिक ढङ्गले विभाजित गरिएको पार्टी पुनः मिलन गराउनु जरुरी छ ।” उहाँले पार्टी एकता गरेर गल्ती नगरेको र एकता पनि आफूहरुले नटुटाएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताको सहभागिता थियो । यस्तै आजै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकमा अध्यक्ष दाहालले वर्तमान सरकार इतिहासकै विवेकहीन भएको टिप्प्णी गर्नुभयो । उहाँले दुईतिहाइ नेतृत्वको सरकार विकेकहीन हुनु विडम्बना भएको उल्लेख गर्दै उहाँले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्च अदालतले विचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको बताउनुभयो । उहाँले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट हटाइएको समेत स्मरण गर्नुभयो । अध्यक्ष दाहालले संसद् पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक निर्णय भए पनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तनविरोधीको रूपमा आएको बताउनुभयो ।

जनतामा गएर आफ्ना कुरा बुझाउनुको विकल्प नभएको बताउँदै उहाँले मजदुर र किसानलाई सङ्गठित गर्न लागिपर्ने धारणा राख्नुभयो । उहाँले अब केही दिनमा नयाँ सरकार बन्छ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । सङ्घीय निजामती सेवासम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पास भए पनि सरकारकै कारण सदनबाट पास हुन नदिइएको उहाँको भनाइ थियो । उहाँले कर्मचारी समायोजनसम्बन्धी विधेयक लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने गरी समितिबाट पास भए पनि पारित हुन नसक्दा समस्या ज्यूँका त्यूँ रहेको बताउनुभयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु