डढेलोले सखाप भए वनजंगल

२०७७, १८ चैत्र बुधबार १३:१२

पाल्पा, १८ चैत । नेपालमा दैनिक डढेलो लाग्ने क्रम बढेकाे छ । यससँगै वायुवण्डमा डढेलोको धूवाँ मिसिएपछि प्रदूषण पनि तिव् रूपमा बढेकाे पाइएकाे छ । पाल्पाका धेरैजसाे वनमा डढेलाे लागेकाे छ । तानसेनका १४ वटा सामुदायिक वनमा डढेलो लागेको छ । रिब्दीकोटमा सबैभन्दा धेरै ४ सय ७९ हेक्टर जंगल डढेलोबाट सखाप भएको डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए ।

कतिपय स्थानमा छिटो घाँस पलाउने बहानामा डढेलो लगाइएको हुन सक्ने तिनाउ सबडिभिजनका सहायक वन अधिकृत रामध्यान साहले बताए । कतिपय सामुदायिक वनमा भने बाहिरका मान्छेले डढेलो लगाइदिएका हुन् । डढेलोले जंगलका काठ, दाउरा, जडीबुटी तथा नयाँ पालुवा जलेर नष्ट भएको तिनाउ वन समन्वय समितिका पूर्वअध्यक्ष अमर प्रधानले बताए ।

खडेरी र बढ्दो गर्मीले सामुदायिक वनका उपभोक्ता डढेलो निभाउन जंगल जान सक्ने अवस्था छैन । रैनादेवी छहरा–७ बल्ढेङगढीका उपभोक्ता रमेश खड्काले डढेलो नियन्त्रण गर्न खोज्दाखोज्दै नसकिएको बताए । चुरे र तराईसँग जोडिएका जंगलमा पनि डढेलो लागेको उनको भनाइ छ । ‘जंगली जनावर, चराचुरुंगी तथा वननजिकका बस्तीहरूमा जोखिम बढेको छ,’ उनले भने, ‘जंगलमा कटानी, छटानी गरेर नयाँ पालुवा हुर्काउने बेलामा भएको आगलागीले समस्या हुन्छ ।

डिभिजन वन, सबडिभिजन वन कार्यालयले जंगलमा लाग्ने डढेलोविरुद्धमा सचेतना कार्यक्रम गर्दै आएको छ । तर डढेलो लाग्न भने रोकिएको छैन । तिनाउ गाउँपालिकाअन्तर्गत तिनाउ वन समन्वय समितिले ८७ वटा सामुदायिक वन उपभोक्ता समूहको भेला बोलाएर ‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूहको अग्रसरता’ विषय र्‍याली तथा सभा आयोजना गरेको छ । तिनाउमा ८७ मध्ये ५० बढी सामुदायिक वन चुरे क्षेत्रमा पर्छन् । तिनाउकै चुरे क्षेत्रमा बढी आगलागी हुने गर्छ ।

आइतबार ५ सय २३ स्थानमा र सोमबार ४३ जिल्लाका १ सय ७१ स्थानमा डढेलो लागेको थियो । तराईका जिल्लामा मंगलबार अघिल्लो साताको तुलनामा डढेलो घटेको छ । ७ वटै प्रदेशका डिभिजन वन कार्यालयले केही हदसम्म डढेलो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । प्रदूषण बढेपछि बालबालिकालाई रूघाखोकी, नाक, घाँटीको एलर्जी र फोक्सोमा समस्यापर्साको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

माधव अर्याल, कान्तिपुरकाे सहयाेगमा ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु