बलात्कारमुक्त समाजको परिकल्पना गर्दै मेची–महाकाली साइकल यात्रा

२०७७, १ चैत्र आईतवार २०:२६

दाङ ,चैत १ । झापाको विर्तामोडस्थित वीरता जेसिजका दुई जना युवाले थालेको साइकल यात्रा लमही आइपुगेको छ। झापाली कान्छा अभिषेक र आकाश क्षेत्री (स्टर भिला)ले गत फागुन २० गते पूर्वको मेची पुलबाट मेची–महाकाली साइकल यात्रा थालेका हुन् ।

फाइल फोटो

‘बलात्कार मुक्त समाजको परिकल्पना, शान्ति सुरक्षा हाम्रो चाहना’ भन्ने मूल नाराका साथ सुरु भएको मेची–महाकाली साइकल यात्रा ११ औं दिन आइतबार लमही आइपुगेको हो। ‘बलात्कार विरुद्धको खबरदारी युवाले नै गर्नुपर्छ भन्ने मुख्य लक्ष्य लिएर अघि बढेका छौँ,’ साइकल यात्री झापाली कान्छा अभिषेकले भने, ‘बलात्कारका घटना दिन प्रतिदिन बढेको छ। घटनामा संलग्न व्यक्तिलाई कडा कारबाहीको माग गर्छौं।’

साइकल यात्राको क्रममा हस्ताक्षर संकलन अभियानसमेत चलाइएको छ। संकलन गरिएको हस्ताक्षर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाउने कार्यक्रम छ।आइतबार लमही आइपुगेको टोलीलाई लमही जेसिजले स्वागत गरेको छ। लमही जेसिजका अध्यक्ष दुलमदास चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा साइकल यात्रीलाई स्वागत तथा सम्मान गरिएको थियो।कार्यक्रममा लमही जेसिजका पूर्वअध्यक्ष उमाकान्त चौधरी, निर्मला चौधरी, फणाधर ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु