वृद्धवृद्धा र असहायमाझ मनाए कालकारले लोक दोहोरी दिवस

२०७७, १ चैत्र आईतवार ०७:१८

पाल्पा । ‘स्वस्थ जिवनको लागी स्वस्थ संगीत’ भन्ने मुल नाराका साथ लोक दोहोरी दिवस मनाईएको छ । दिवसको अवसरमा वृद्धवृद्धा र असहायहरु समक्ष पुगी आत्मियता साटासाट गरि पाल्पाली कलाकारहरुले दिवस मनाएका छन ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाले
आफ्नो लोक दिहोरी दिवसको अवसरमा सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्रका फरक क्षमता भएका विद्यार्थीसँग एक छाक खाना सहित विशेष कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानमा आवद्ध कलाकारहरुले केन्द्रमा अध्ययनरत फरक क्षमताका विद्यार्थीहरुसँगै बसेर दोहोरी गीत समेत गाएका छन् । विद्यार्थी र कलाकारहरु बिच अत्यन्त सौहार्दपूर्ण वातावरणमा दोहोरी चलेको थियो । पाल्पाली कलाकारहरु रेखा विष्ट, ममता कोइराला, कमल भट्टराई, अनु खनाल, विजय बम्डेल, तिर्सना थापा, सुमित कुंवर, अनु गोतामे, रामचन्द्र थापा, धनि खाम्चा लगायतले विद्यार्थीहरुसँग दोहोरी गाएर रमाएका थिए ।

कलाकार र फरक क्षमताका व्यक्तिहरु बिचको सम्बन्धलाई सुमधुर बनाउन कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष रेखा विष्टले बताईन् । उनले फरक क्षमता (दृष्टिविहिन, शारिरीक अपाङ्गता) का व्यक्तिहरुमा पनि विलक्ष्ण प्रतिभा लुकेको हुने भन्दै त्यस्ता व्यक्तिहरुलाई सम्मान र हौसला प्रदान गर्नुपर्ने बताईन् । पत्रकार रामचन्द्र रायमाझीले फरक क्षमताका व्यक्तिहरुको सम्मानमा प्रष्ठिानले देखाएको सद्भावको प्रशंसा गरे । उनले समाजमा अझै पनि फरक क्षमताका व्यक्ति, वृद्धवृद्धा, असहाय, र दिनदुखीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै प्रतिष्ठानले गरेको कार्यक्रम अनुकरणीय रहेको बताए ।

कार्यक्रममा सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्रका व्यवस्थापक सन्दिप भट्टराईले फरक क्षमताका विद्यार्थीहरुलाई प्रतिष्ठानले देखाएको सद्भाव र सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले सबैको सहयोग र स्दभावले नै अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगार र शिक्षित बनाउने उद्देश्यले २०६७ सालमा केन्द्र स्थापना गरी काम गर्दै आएको बताए । सोही अवसरमा प्रतिष्ठानले फरक क्षमताका विद्यार्थीहरुका लागि नगद ६ हजार आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानका अध्यक्ष रेखा विष्टको अध्यक्षता, कोषाध्यक्ष अनु खनालको स्वागत, सचिव कमल भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

कला र संस्कृतिको संरक्षणमा क्रियाशिल रहँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले वातावरण सरसफाई, वृद्धवृद्धाहरु र असहायहरुको उद्धारमा रचनात्मक कार्य गर्दै आएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु