गलकोटमा चैत दोस्रो साता परम्परागत होली मेला ।

२०७७, २६ फाल्गुन बुधबार ११:५७
 बागलुङ फागुन २६ । होली पूर्णिमा मेला २०७७ नजिकिए सँगै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले आफ्नो ३६ औं वार्षिकोत्सव तथा होली मेला २०७७ भव्य अनि सभ्य रूपमा मनाउने भएको छ ।
संस्थाको कार्यालय मल्म सप्ताहघाटमा आज सम्पन्न कार्यसमिति, सल्लाहकार, सरोकारवालाको बैठकले मेला आयोजना गर्ने निर्णय गरेको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो । आगामी चैत १३ गतेदेखि १५ गते सम्म होली पूर्णिमा मेलाको अवसरमा विविध खेलकुद तथा सांस्कतिक कार्यक्रम सहित राष्ट्रिय स्तरका कलाकारहरुको साथमा मेला गर्न लागिएको अध्यक्ष थापाले बताउनु भयो । मेलाको अवसरमा बृहत कृषि मेला प्रदर्शनी, वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, सामूहिक लोक नृत्य प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने समितिका उपाध्यक्ष जीवन साहनीले बताउनु भयो ।
मेला अवधिभर जेष्ठ नागरिक, भूतपूर्व भलिबल खेलाडी, सक्रिय समाजसेवी, सफल व्यवसायी सम्मान गरिने संस्थाले जनाएको छ । मेलामा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताइएको छ । स्थापनाकाल देखि नै सामाजिक कार्यमा सक्रिय रहेको घुम्टे युवा परिवारले सामाजिक जागरणको अभियानमा आफ्नो महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । बागलुङ जिल्लाकै पुरानो संस्था घुम्टे युवा परिवार “खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान” भन्ने मुल नाराका साथ वि.सं २०४१ सालमा स्थापना भएको हो ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु