‘अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्‍याउनुस्, सच्चिने यो अन्तिम अवसर: गृहमन्त्री थापा

२०७७, १७ फाल्गुन सोमबार १४:४०

काठमाडौंफागुन १७ नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा(बादल)ले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्‍याउन प्रचण्ड–माधव समूहलाई आग्रह गर्नु भएको छ । उहाँले प्रचण्ड–माधव समूह सच्चिने यो अन्तिम अवसर भएकोसमेत बताउनु भयो ।

फाइल फोटो

पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भन्नु भयो , ‘अविश्वासको प्रस्तावलाई अगाडि बढाएर उहाँहरुले सरकारलाई अपदस्थ गर्न खोज्नु भएको छ । त्यसलाई गल्ती ठानेर, अविश्वासको प्रस्तावलाई विथड्रल गरेर पार्टीलाई फेरि एकताबद्ध गर्ने अवसर उहाँहरुलाई छ ।

प्रचण्डको साथ छोडेर ओली समूहमा लागेका थापाले भन्नु भयो ‘तपाईंहरुलाई सच्चिने यो अन्तिम अवसर पनि हो । तपाईंहरु सच्चिनुस् । तपाईंहरु गलत बाटोबाट हिँडिरहनु भएको छ ।’

गत भदौ २६ गते स्थायी कमिटी बैठकले पार्टी एकताको पक्षमा गरेको निर्णयमा फर्किन थापाले प्रचण्ड–माधव समूहलाई आग्रह गर्नु भयो ।

‘पार्टी एकताको निम्ति भाद्र २६ गतेको स्थायी कमिटीको बैठकले जुन निर्णय गरेको छ, एकताको पक्षमा, रुपान्तरणको पक्षमा, समृद्धिको पक्षमा आत्मआलोचनासहित भाद्र २६ गतेको त्यो निर्णयलाई तपाईंहरुले कार्यान्वयन गर्नुस् र पार्टीलाई फेरि एकताबद्ध गराउन योगदान गर्नुस्,’ थापाले भन्नु भयो ।

उहाँले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट देश अस्थीरतामा धकेलिएको जिकीरसमेत गर्नु भयो ।‘यो देशको स्थायीत्वको पक्षमा अदालतको निर्णय भएको छैन । यो निर्णयले देशलाई अस्थीरतामा धकेलेको छ । यो अस्थीरता त हामीले देखिसक्यौं,’ थापाले भन्नु भयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु