उर्लाबारीका प्रवीण बास्तोला मृत्यु प्रकरण : हत्या गरिएको मोरङ प्रहरीको निष्कर्ष

२०७७, १२ फाल्गुन बुधबार १५:२८

मोरङ । मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । साथीसँगै सुतेका उर्लाबारी नगरपालिका-५ निवासी प्रविन बाँस्तोलाको पुस ५ गते बिहानपख मृत्यु भएको थियो । मृतकका परिवारले यो स्वाभाविक मृत्यु नभई हत्या भएको हुनसक्ने जनाएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो ।

फाइल फोटो

मृतकका बहिनी सदीक्षा बाँस्तोलाले घटना गम्भीर भएको र यसमा प्रहरीको अनुसन्धान कमजोर भएको टिप्पणीसहित प्रतिवाद गरेकी थिइन्। प्रहरीले घटनाबारे गहिरिएर अध्ययन गर्दा मृतकको मृत्यु स्वभाविक नभएर हत्या नै देखिएको प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काले बुधबार पत्रकार सम्मेलनमा बताए।

उनले घटनाको छानबिनमा केही ढिलाइ भए पनि दोषी उम्कन नदिने बताए। पीडित परिवारले प्रहरीको अनुसन्धानमा देखाएको कमजोरीबारे पनि छानविन भइरहेको पनि उनले जानकारी दिए। खड्काले उर्लाबारीका बास्तोला मृत्यु प्रकरणमा अनुसन्धान त्रुटीरहीत ढंगले भइरहेको पनि बताएका छन्। खड्काले मिसिलमा भूलवश मृतकको ठाउँमा अरुको तस्बिर परेकै आधारमा फितलो अनुसन्धान भएको वा प्रहरीले घटनालाई कमजोर बनाएको भन्‍न नमिल्ने तर्क गरे।

सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन (मिसिल) बुझाउँदा मृतकको तीनवटा फोटो राखेको थियो जसमा एउटा फोटो भने अर्कै व्यक्तिको परेको थियो।’तस्बिर फरक परे पनि मृतकको परिचय फेरिएको छैन। हामीले कर्तव्य ज्यानसम्बन्धी अपराधमै मुद्दा चलाउँछौँ’, खड्काले भने, ‘मुद्दा किनारा लागेको होइन, थप दुई आशंकितलाई पक्राउ गर्दैछौँ। प्रहरीबाट कमजोरी भए नभएको अनुसन्धान गर्न डिएसपी नेतृत्वको छानबिन समितिले काम गर्दैछ।’

उर्लाबारी अस्पतालमा मृत अवस्थामा फेला परेका प्रवीणको मृत्युबारे प्रहरीले गम्भीर रुपमा अनुसन्धान भइरहेको दाबी गरेको छ। उर्लाबारी प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र कटवालसहितलाई जिल्ला प्रहरी कार्यालय तानिएको छ। मृत्यु शंकास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी-६ का ३१ वर्षीय राजेश रणपहेलीसहितविरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए।

पक्राउ परेका उनी माघ २ गते सरकारी वकिल कार्यालयको निर्देशनपछि हाजिरी जमानीमा छुटेका छन्। आफन्तले भने तस्बिर फरक परेकोले सरकारी वकिल कार्यालयले मुद्दा अघि नबढाएको बताउँदै आएका छन्।प्रवीण मृत्यु प्रकरणमा मिसिलमा फरक तस्बिर परेको र अनुसन्धानमा कमजोरी भएको भन्दै आफन्त तथा स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन्। यसैगरी, न्याय माग्दै आफन्त र स्थानीयले विराटनगरस्थित सरकारी वकिलको कार्यालय र मोरङ जिल्ला प्रशासन कार्यालयमा समेत प्रदर्शन गरे।

मुद्दा दर्ता

प्रवीण मृत्यु प्रकरण घटनामा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। शङ्कास्पद मृत्युको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईसहित छ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार उर्लाबारी नगरपालिका–६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीविरुद्ध मुद्दा दायर भएको हो। जसमा दुई जना पक्राउ परेका छन्। प्रहरी उपरीक्षक खड्काका अनुसार कुमार राई र मेहरमान दर्जी पक्राउ परेका हुन्।

यसअघि पक्राउपछि हाजिरी जमानीमा छुटेका चार जना फरार छन्। फरार भएकाहरूको खोजी कार्य भइरहेको उनले बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु